बिहीबार, बैशाख २०, २०८१

कर्णाली प्रदेश अस्पतालमा बिहिबारदेखि कोरोनाको परीक्षण गरिने

  
कर्णाली टाइम्स बुधबार, चैत्र १९, २०७६


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल कालागाँउमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने मेसिन जडान गरिएको छ ।
संघिय सरकारले कोरोना भाइरस (कोभिड –१९) जाँच गर्ने मेशिन सहितका उपकरण सेनाको हेलिकोप्टरबाट बुधबार सुर्खेत पठाएको हो । बिहिबारदेखि कोरोनाको परीक्षण सुर्खेतबाटै हुने भएको छ । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर डम्बर खड्काले बताए ।
उनका अनुसार भोली बिहिबार देखि नै परीक्षण गरिने छ । दैनिक १५ वटा को दरले परीक्षण गर्न मिल्ने डाक्टर खडकाको भनाई छ । यदि कुनै केश पोजेटिभ आए राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा पठाइने उनले बताए ।

किट भन्दापनि यो मेसिन धेरै विश्वासिलो भएकाले यसको प्रभावकारिता फरक हुने अस्पतालका फिजिसियन डाक्टर के. एन. पौडेलले बताए ।
अस्पतालका अनुसार एउटा केशको परिक्षणका लागि ४० देखि ६० मिनेट लाग्ने छ ।
उपकरण संगै कोरोना परीक्षणको लागि प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाले प्रयोगशाला विज्ञका रुपमा रामकृष्ण श्रेष्ठलाई पनि सरकारले सुर्खेत पठाएको छ । उनले एकसातासम्म प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षण बारे बताइएको छ ।
कर्णालीबाट हालसम्म झण्डैं २५ ओटा स्वाब नमुना काठमाडौं पठाइएको छ । यी सबै रिपोर्ट नेगेटिभ देखिएका छन् ।