सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना कैदी भागेका छन् । बिहिबार रातको एक बजे झ्याल उक्काई भागेपनि प्रहरीले भने बिहान ७ बजेमात्रै थाहा पाएकोबताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी पट्टीको झ्याल नै उक्काएर लागु औषध ( ब्राउन सुगर) मुद्दामा पक्राउ परेका तीन जना आज राती भागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख दील्लीराज पन्तले बताए । ‘तीन जना थुनुवाहरू भागेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ,’ प्रमुख पन्तले भने, हामीहरुको कडा निगरानीका बाबजुत पनि झ्याल फोडेर भागे ।’
फरार हुने दुई जना चैत १६ गते प्रहरीले ब्राउन सुगर लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । वीरेन्द्रनगर– ६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्रम लागु औषधसहित पक्राउ गरेको थियो । यस्तै सोही मितिमा वडा नम्वर ६ कै २० वर्षका सुनिल थारुलाई १२० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
र अर्का भेरीगंगा नगरपालिका निवासी हाल वीरेन्द्रनगर ११ मा बस्दै आइरहेका २१ वर्षका सन्देश केसेरा पनि फरार भएका छन् । कसेरालाई २०७६ फागुन २५ गते उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर लागुऔषधसहित पक्राउ गरेको थियो ।