शनिबार, भदौ २९, २०८१

कर्णालीमा कोराना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २०, २०७६


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोनाको शंकास्पद चार जना बिरामीको थ्रोब स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । बिहिबार पहिलो दिन चार जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् ।
उनका अनुसार पहिलो टेस्ट भारतबाट आएका चार जनाको गरिएको हो । हरेक दिन जाँच गरिएका रिपोर्ट साँझ ५ बजे नतिजा सार्वजनिक गरिने भएको छ ।
नमूना जाँच गर्न प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट रामकृष्ण श्रेष्ठले ल्याब टेक्निसियनलाई सिकाइरहेको स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यले बताए ।
‘अहिले उहाँले हामीहरूलाई तालिम दिइरहनुभएको छ । ६ जना ल्याब टेक्निसियनले प्रयोगशालामा सिकिरहेका छौं । उहाँहरु फर्किएपछि हामी आफैं परीक्षण गर्छौं,’ आचार्यले भने, ‘एक घण्टामा १ रिपोर्ट निकाल्न सकिने रहेछ । हामी १८ घण्टा काम गरेर भएपनि १५ वटा जाँच गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं ।’
हाल ल्याब जाँच गर्ने जनशक्तिका लागि २० सेट जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र पाँच सय नमूना जाँचका लागि सामान उपलब्ध भएको आचार्यले जानकारी दिए ।