जगतदल जनाला विक
सुर्खेत ।चौकुने गाउँपालिका–२ का देउमान सिंह बान्तोलाललाई रुघाखोकी लागेको एक हप्ता भयो । उनी उपचार गर्नका लागि नीजि तथा सरकारी स्वास्थ्य संस्थामा गए तर सबै स्वास्थ्य संस्थामा ताला लागाइएको छ । नजिकका स्वास्थ्यकर्मीलाई उनले आफुलाई भएको समस्याका विषयमा फोनबाट बताए । तर कोरोनाको त्रासका कारण आफुहरुले अस्पताल बन्द गरेको र कुनै पनि उपचार गर्न नसक्ने बताए ।
‘रुघाखोकी लागेको एक हप्ता भयो, सबै स्वास्थ्य संस बन्द भएका छन्,’ देउमान सिंहले भने, ‘टाढा जाउँ भने पनि यातायातका साधन छैनन् । उपचार नहुँदा कतै हामीलाई पनि कोरोना लागेको छ की भनेर चिन्ता लाग्ने गरेको छ ।’
बान्तोलाका अनुसार चौकुने–२ लगाममा भएका दुईवटा नीजि मेडिकल, एउटा गाउँघर क्लिनिक र एउटा स्वास्थ्यचौकी समेत बन्द भएका छन् ।
लगामकै खड्क बहादुर बडुवालको परिवारमा पनि तीन जना बिरामी भएपछि उनी स्वास्थ्य संस्थामा गए तर स्वास्थ्य संस्थामा औषधी पनि नभएको र यस्तो परिस्थितिमा आफुहरुले उपचार गर्न नसक्ने बताउँदै स्वास्थ्यकर्मीले फर्काइदिए ।
सामान्य रघाखोकी लागेपनि कोरोनाको डर लाग्ने गरेको बडुवालको भनाई छ ।
भारतबाट आउने युवाहरुको संख्या गाउँमा बढी र आफुहरुसँग कुनै पनि सुरक्षाका सामग्री नभएकोले आफु बच्नका लागि भएपनि मेडिकल बन्द गरेकोे स्थानीय स्वास्थ्यकर्मी सुर्य बहादुर शाहीले बताए ।
‘अहिलेको यो अवस्थामा हामी मानसिकरुपमा समेत बिरामी भएकाछौं । भारतबाट आउनेको संख्या पनि त्यति नै छ र कैलालीसँग जोडीको जिल्ला भएका कारण पनि कैलालीका स्थानीयहरु समेत दैनिक यहाँ आउने गरेका छन्,’ शाहीले भने, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि सुरक्षाका सामग्री ल्याउन हार गुहार गरेपनि उपलब्ध नभएपछि अनि हामी मेडिकलमा ताल्चा लगाएर बसेका छौं ।’
‘गाउँमा भारतबाट आएका व्यक्तिहरु धैरै छन्, उनीहरु असुरक्षित रुपमा गाउँमा हिंडिरेका छन्,’ उनले भने, ‘उपचारकै क्रममा हामीलाई पनि कोरोना नलाग्ला भन्न सकिदैन ।’
गाउँमा कोरोनाबाट बच्न देवी, देवतालाई भाकल्ने र कोरोनाका बारेमा सचेतना फैलाउँदा गाउँलेबाट समेत आफुहरु अपेहलित हुनु परेको स्वास्थ्यकर्मी शाहीको भनाई छ ।
तर स्वास्थ्य चौकी बोलाका अहेब उपेन्द्र भट्टराईले स्वास्थ्यचौकीमा आएका बिरामीहरुलाई उपचार गरेर फर्काएको दाबी गरे । उनले गाउँपालिकाबाट केहि सामग्री आएपनि सुरक्षाका सामग्रीहरु आएपनि थर्मल गन लगायत अन्य सुरक्षाका सामग्रीहरुको अभाव रहेको बताए ।
चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले सरकारी स्वास्थ्यचौकी खुलेको र नीजि स्वास्थ्य संस्थालाई पनि आवश्यक सामग्री सहयोग गरेर मेडिकल खोली जनताको सेव ागर्न लगाइने बताए ।
विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला गाउँमा सिटामोल पाउन नसक्ने अवस्था आएपछि स्थानीय त्रसीत बनेका छन् ।