सुर्खेत । ‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ ।’ योे हरफले अर्काको बिरानो देशमा राम्रो बोलेपनि बिग्रीन्छ, यस्तो बेला राहातका कुरा नगर्नुस मुटु चिरिन्छ भन्न खोजेको हो । यो गित झट्ट हेर्दा कुनै कलाकारले देउडा गितको जवाफ फर्काए जस्तो लाग्छ । तर त्यसो नभई भारतको हिमाचल प्रदेशको कुल्लुमा रहेका चौकुने गाउँपालिका–१ का उत्तम कठायतले फेसबुकमा लेखेको बिलौना हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल लकडाउन गरिएको छ । र सरकारी तथा गैरसरकारी क्षेत्रबाट लकडाउनका बेला खाद्यान्न, मास्क, साबुन राहात वितरण गरिरहेका मनालीमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने कठायत लकडाउन भएपछि फुर्सदिलो भएर पेटभरी खाना नपाएकोले आफ्नो मातृभुमी नेपाललाई सम्झेर त्यो स्टाटस लेखेको कठायतले बताएका छन् । ‘लक डाउनका कारण हामीले यहाँ पेटभरी खान पाएका छैनौं, नेपालमा राहात बाँडेका र बाँड्ने तयारी साथीहरुबाट सुन्दा हाम्रो मन नै चिसो हुन्छ ।’ उनले भने ।
उनीसँग त्यहाँ ‘सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, कैलालीका सहित १५ जना नेपालीहरु एक हप्तादेखि समस्यामा छन् ।
यस्तै भारतको मुम्बईमा रहेका कैलालीको पहलवानपुरका अमर बडुवाल पनि लकडाउनका कारण अलपत्र अवसमा बस्न बाध्य भएका छन् । उनी जस्तै होटेलमा काम गरेर दैनिकी चलाउने सयौं युवाहरु अलपत्र परेको बडुवालले जानकारी दिए ।
पटकपटक नेपाली दुतावास र भारत स्थित विभिन्न संघ संगठनलाई हारगुहार गरेपनि कसैले वास्ता नगरेको उनको गुनासो छ ।
यस्तै लकडाउन भएपछि साहुले होटेल बन्द गरेर वेवास्ता गरेपछि चौकुने–१ का हिमाल वली पनि समस्यामा छन् ।
कर्णाली टाइम्स
मंगलबार, चैत्र २५, २०७६