शुक्रबार, माघ २५, २०८१

कर्णालीमा मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक, सबै एकजुट भएर कोरोना विरुद्ध लड्ने प्रतिवद्धता

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २८, २०७६

 

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको आब्हानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय बैठक सम्पन्न गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय उक्त बैठकमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आम नागरिकहरुले एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमा नाकाहरुमा हेल्थ डेस्क स्थापना, स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गर्ने जस्ता कार्यहरु आफु नेतृत्वको सरकारले शुरु गरेको बताउँदै यो कठिन परिस्थितिमा सबैले एकजुट हुन आग्रह गरे ।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको र क्वारेन्टाईन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद व्यवस्थापन कोष, स्थानीय तहलाई वजेटको व्यवस्थापन, आईसोलेसन अस्पतालको व्यवस्थापन लगायतका काम सरकारले गरेको जानकारी दिए ।
त्यसैगरि स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामगी्रको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्यालामजदुरीमा जिविका चलाउने विपन्न नागरिकहरु र राउटे समुदायका लागि खाद्य सामागी्रको व्यवस्था जस्ता काम गरिएको मुख्यमन्त्री शाहीले बताए ।
लकडाउनको अवस्थामा अत्यावश्यक खाद्य सामग्रीको अभाव हुन नदिन आपुर्तीको व्यवस्थापन गरिएको र स्थानीय उत्पादनको प्रयोगको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरिएको उनको भनाई छ ।

बैठकमा मुख्यमन्त्री शाहीले लकडाउनको कार्यान्वयन, राहात वितरण तथा विरामीहरुको उपचार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा समन्वयका लागि राजनैतिक दलका सम्बन्धीत तहका ईकाइहरुको परिचालनका लागि राजनैतिक दललाई आग्रह समेत गरेका छन् ।
सर्वदलीय बैठकमा विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरुले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुको प्रशंसा गर्दै सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेकोले ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न सुझाव दिए ।
अहिलेको महामारी नियन्त्रणको लागि सवैभन्दा प्रभावकारी र बलियो हतियार लकडाउन नै भएको बताउदै शर्माले यसलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सरहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरु समेत कोरोना संकटबाट गुज्रिरहेका बेला हाम्रो जस्तो साधनस्रोत तथा प्रविधिमा कमजोर रहेकोे मुलुकमा सरकार, राजनीतिक दल, संघसंस्था र आम नागरिक एकतावद्ध भएर जानुको बिकल्प नभएको दाबी गरे ।
‘कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न हाम्रो पाटी काँग्रेसले पूर्णरुपमा सहयोग र समन्वय गर्ने छ,’ पुर्वमन्त्री थानीले भने, ‘कोरोना परिक्षण र उपचारको कार्यलाई तिब्रता दिनु सरकारको पहिलो प्राथमिकता हो ।’
विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कोरोना परिक्षणको गति सन्तोषजनक नरहेको बताइ रहेका बेला विकास निर्माण र अन्य काम भन्दा यो महांमारीका विरुद्ध लड्नु ठुलो कुरा भएकोले विकास बजेट रकमान्तर गरेर भएपनि नागरिकको जिउ ज्यानको सुरक्षा दिनुपर्ने थानीको भनाई छ ।

 


मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारका मन्त्रीहरुले कोरोना रोकथामका लागि मन्त्रालयले अहिले सम्म गरेका कामकारबाहीहरु र आगामी योजनाको विषयमा जानकारी समेत दिएका थिए ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदराम थानी, नेकपाका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला ईन्चार्ज नरवहादुर विष्ट, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, राप्रपा कर्णाली प्रदेश उपप्रमुख सुर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज रत्नविक्रम राना, नेपाल मजदुर किसान पार्टीका हरिबहादुर वोहोरा लगायतको सहभागिता रहेको थियो ।