सोमवार, मंसिर १७, २०८१

नेकपा कर्णालीले कोरोना विरुद्धको अभियानमा सबै कमिटीलाई परिचालन गर्ने

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७

सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विरुद्धको अभियानमा नेकपा कर्णाली प्रदेश कमिटीले आफ्ना सबै कमिटिीलाई परिचालन गर्ने भएको छ । सरकारले चैत्र ११ गतेदेखि लागु गरेको लकडाउन तेस्रो चरण बैशाख ३ गते सकिने थियो भने फेरि सरकारले १२ दिन बैशाख १५ सम्म लकडाउनको समय थपेको छ । कर्णाली प्रदेशको पार्टी कार्यालय बैठकले सरकारले चालेका अभियानमा सहयोग पुग्ने गरी नेकपा प्रदेश कमिटीले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल कमिटीलाई परिचालन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौंमा भएको बैठकमा सहइन्चार्ज यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरख बोगटीको प्रत्यक्ष उपस्थिति रहेको थियो भने अन्य पदाधिकारीसंग भिडियो कन्फरेन्स मार्फत पनि छलफल गरिएको थियो ।
कर्णालीका जनताको आवश्यकताअनुसार लकडाउनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले त्यही तरिकाले जानुपर्छ भनेर अलग अलग जनपरिचालनको निर्माण गरिएको प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले जानकारी दिए । जसमा स्थानीय तहका ५ देखि ७ घरको एउटा सहकार्य युनिट बनाउने र त्यो युनिटले आपसमा मिलेर जनताका समस्याको सहजीकरणमा लाग्नुपर्ने बोगटीले बताए ।
कुनै समस्या आयो भने त्यसले काम गर्नेगरी साधन स्रोत पनि उपलब्ध गर्ने भन्ने नीति बनाइएको छ । त्यसैगरी पालिकामा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ । त्यहाँ पालिकाले समाधान गर्न नसकेको जिल्लामा पठाउने, जिल्लाले नसकेको प्रदेश कमिटी कहाँ पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिने जनाइएको छ । यसका साथै कर्णालीमा खाद्य आपूर्ति कसरी गर्ने भनेर छलफल गरिएको थियो ।