सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन एक हप्तामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ ।
दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्ताको भिड लाग्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सातामा तीन दिनमात्रै बजार खोल्ने निर्णय गरिएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले सातामा सोमबार, बुधबार र शुक्रबार मात्रै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने निर्णय गरेको हो ।
त्यस्तै, तरकारी तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने सवारी साधन पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेको छ ।
तर, औषधि तथा क्लिनिक प्रत्येक दिन अनिवार्य रूपमा खोल्नुपर्ने निर्णय गरेको छ । बैठकले एम्बुलेन्समा समेत एकभन्दा बढी कुरुवा राख्न नपाउने निर्णय गरेको छ ।