बुधबार, फागुन ९, २०८०

मनकारी राना, जसले छुट गरे २ महिनाको घरभाडा

  
कर्णाली टाइम्स सोमवार, बैशाख ८, २०७७

सुर्खेत । चिङ्गाड क्षेत्रमा कर्णबहादुर रानाको परिचय एक सफल राजनीतिज्ञका साथै मनकारी समाजसेवीको रुपमा समेत स्थापित छ । उनको यो छबि लकडाउनको बेला थप चहकिएको छ ।

उनले वीरेन्द्रनगरको घण्टाघरलाइनमा रहेको आफ्नो घरमा होटल गरी बस्ने व्यक्तिलाई २ महिना (चैत र वैशाख) को घरभाडा छुट गरेका छन् । उनले होटल सञ्चालकबाट मासिक २५ हजार रुपैयाँ लिँदै आएका थिए । यस हिसाबले ५० हजार रुपैयाँ छुट गरेका छन् । ‘होटल चलेको छैन, यस्तो बेला घरभाडा लिन मनले कसरी मान्छ ?’ उनले भने, ‘मैले आफ्नो प्रचारको लागि भन्दा पनि दुःखको बेला सहयोग गर्नुपर्छ भनेर यो निर्णय गरेको हुँ ।’ छोरा रामचन्द्र र श्रीमतीसँग सल्लाह गरेर यस्तो निर्णय गरिएको उनले बताए ।

२ महिनाको घरभाडा छुट पाएपछि होटल सञ्चालक तीर्थराज खत्री पनि खुसी भएका छन । लकडाउनलगत्तै होटल बन्द गरेर घरतिर गएका उनले भने, ‘लकडाउन भएपछि होटलको घरभाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो, उहाँले आफै यस्तो निर्णय गर्नुभएछ, खुसी लागेको छ ।’
नेपाल सरकारले समेत लकडाउनको अवधिको घरभाडा छुट दिन घरधनीलाई आग्रह गरेको छ । सरकारको आग्रहलाई मान्नैपर्छ भन्ने छैन । रानाले सरकारको आग्रहमा नभई आफ्नै अन्तरमनबाट भाडा छुट गरिएको बताए । ‘घरधनीका पनि आफ्नै समस्या हुन्छन्, ऋण बोकेर घर बनाएका हुन्छन्,’ उनले भने, ‘यस्तो बेला भाडा छुट दिन आग्रह मात्र गरेर हुँदैन, सरकारले घरधनीलाई पनि केही सहयोग गर्नुपर्छ ।’

‘लकडाउन भएको एक महिना पनि भएको छैन, किन दुई महिनाको भाडा छुट गर्नुभयो त ?’ यो प्रश्नमा रानाले होटल सञ्चालकलाई पर्ने आर्थिक क्षतिमा केही राहत महसुस होस् भनेर निर्णय गरिएको बताए । ‘यो एक किसिमले भन्ने हो भने राहत पनि हो,’ उनले भने, ‘मैले गर्नसक्ने सहयोग यही त हो ।’ जसले जे सहयोग गर्न सक्छ, त्यही गर्नको लागि उनले अन्य घरधनी र मनकारीलाई आग्रह गरे ।