सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबैै तहका सरकार बिचको आपसी समन्वय गरि कोरोनाको जोखिम अन्त्य गर्नुपर्ने बताएका छन् ।
सोमबार कर्णाली प्रदेशका दशवटै जिल्लाका जिल्ला समन्वय प्रमुखसंगको भिडियो कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भिरतापुर्वक लाग्नुपर्ने बताए ।
स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)को प्रतिकार्यका लागि गरिरहेका प्रयास प्रशंसनीय रहेको बताउदै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफ्नो जिल्लाका स्थानीय तहबिच समन्वय गरि त्यहाँको आवश्यकताको बारेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरे ।
‘अहिलेको मुख्य काम भनेकै एकतावद्ध रुपमा कोरोना संकटका विरुद्ध सामुहिक रुपमा लडनु हो,’ मुख्यमन्त्री शाहीले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि कोरोना प्रतिकार्यमा लाग्नु आग्रह गर्दछु ।’
महामारीको अवस्था उत्पन्न भए पनि नागरिकको जीउँ तलमाथि नहुने गरि अहिले नै वडास्तरसम्मको तयारी गर्र्न एकिकृत टीम परिचालनको व्यवस्था मिलाउन आवश्यक रहेको औंल्याए ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरिरहेको र स्थानीय तहका लागि आवश्यक बजेट, स्वास्थ्य सामगी्र तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
क्षेत्रगत रुपमा लकडाउनलाई कडाई गर्दै उच्च सावधानी सहित नागरिकलाई अत्यावश्यक कृषि कार्य गर्न दिनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले कृषि कार्य गर्दा पनि परिवार बाहिरको जनशक्ति प्रयोग नगर्न, सामाजिक दुरी कायम गर्न तथा स्वास्थ्य सुरक्षाका सावधानीहरु अपनाउनका लागि जनतालाई अनुरोध गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले एक घरबाट अर्को घर जाने, एक टोलवाट अर्को टोल जाने, एक स्थानीय तहबाट अर्को स्थानीय जाने कुरामा रोक लगाई लकडाउनलाई कडाई गर्नुपर्ने वताए ।