बिहीबार, माघ ३, २०८१

कोरोनाको सम्पूर्ण जाँच अब कर्णालीबाटै, ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत ल्याइयो

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ११, २०७७

सुर्खेत । कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आईपुगेको छ । बिहीबार उक्त मेशिन नेपाली सेनाको जहाजबाट ल्याएसँगै कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको हो ।
जर्मनमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशीन बिहीबार सुर्खेतमा ल्याई प्रदेश अस्पताललाई हस्तान्त्रण गरिएको छ । ‘अब ‘क्रस भेरिफिकेशन’को काम प्रदेश अस्पताल सुर्खेतमै हुन्छ, यसअघि सुर्खेतमा रहेको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भएपनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै संक्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाण्डौं पठाउनु पर्ने बाध्यता रहेको थियो,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अहिले ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशीनबाट दैनिक ९६ वटा नमूनाको परीक्षण सहजै गर्न सकिनेछ ।’
उनले त्यसअघि संघीय सरकारको सहयोगमा ल्याईएको सानो पीसीआर मेशीनबाट मुश्किलले दैनिक १० देखि १४ वटासम्मको नमूना जाँच गर्नु पर्नुपर्ने बाध्यता रहेको जनाए ।
मन्त्री रावलका अनुसार उक्त सानो पीसीआर मेशीनबाट गरिने जाँच नमूना पोजेटिभ आएपछि थप परीक्षणका लागि धनगढी र काठमाडौं पठाउँदा रिपोर्ट आउन समय लाग्ने गरेको थियो । नयाँ ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशिनबाट आउँदो आइतबारदेखि जाँच परीक्षण शुरु गरिने योजना रहेको छ ।
२५ लाख रुपैयाँको लागतमा ल्याईएको उक्त आरटीपीसीआर मेशीन प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा राखिए छ । सोही क्षमताको आरटीपीसीआर मेशिन जुम्ला स्थित कर्णाली विज्ञान प्रतिष्ठानमा समेत जडान गर्नका लागि ल्याईएको छ । उक्त मेशीन अब सुर्खेतबाट जुम्ला पु¥याउने कर्णाली प्रदेश सरकारले योजना रहेको मन्त्री रावलले जानकारी दिए ।
यो सँगै ठूला क्षमताका दुई वटा आरटीपीसीआर मेशिन कर्णालीमा सञ्चालनमा ल्याईएपछि कोरोना भाइरस संक्रमण जाँच्ने गतिमा थप तीव्रता आउने अपेक्षा राखिएको उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) को सम्पूर्ण परीक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँका बासिन्दा समेत निकै खुशी भएका छन् ।
किट भन्दा आरटीपीसीआर मेसिन धेरै विश्वासिलो भएकाले यसको प्रभावकारिता फरक हुने स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यले बताए । उनले सुर्खेत स्थित प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नमूना नेगेटिभ देखिएको जनाए ।

प्रदेश अस्पतालमा टेलिमेडिसिन सेवा सुरु
दुर्गम भेगका नागरिकमा देखापरेका जटिल समस्याको पहिचान गरी विशेषज्ञ चिकित्सकमार्फत उपचारमा सहयोग पु¥याउन कर्णाली प्रदेश अस्पताल कालागाउँमा टेलिमेडिसिन (दुर–चिकित्सा) सेवाको सुरुवात गरिएको छ ।
कर्णालीका विभिन्न ठाउँमा रहेका बिरामीलाई प्रदेश अस्पतालका चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि टेलिमेडिसिनमार्फत परामर्श दिनेछन् ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा सोमबार देखि यो सेवा सुरु गरिएको छ ।
प्रदेश अस्पतालमा रहेको टेलिमेडिसिन कक्षमा बसेर भिडियोमार्फत दुर्गमका स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सकले परामर्श दिनेछन् । यसले जटिल बिरामी तथा कोरोनाको संक्रमणका बिरामीलाई पनि कसरी उपचार गर्ने भन्नेमा सहयोग पुग्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।