सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सेनिटाइजर उत्पादन सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि बजारमा देखिएको अभाव टार्ने र विश्वविद्यालयलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ सेनिटाइजर उत्पादन थालिएको हो ।
शिक्षा शास्त्र संकायका सहायक डीन एवम् सेनिटाइजर उत्पादन समन्वय समितिका संयोजक विष्णु खड्काका अनुसार बिहीबारमात्रै विश्वविद्यालयले ६० मिलिलिटरका एक हजार थान उत्पादन गरेको छ । पहिलो चरणमा उत्पादिन सेनिटाइजर कर्णालीका विभिन्न अस्पताल र प्रदेश सरकारका मन्त्रालयलाई निःशुल्क रुपमा वितरण गरिनेछ ।
७५ हजारको लागतमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको साइन्स ल्याबमा सेनिटाईजर उत्पादन सुरु गरिएको हो । अबदेखि निरन्तर रुपमा सेनिटाइजर उत्पादन गरिने विश्वविद्यालयले जनाएको छ ।
बजार मूल्यभन्दा सस्तो तर गुणस्तरिय उत्पादन गर्ने उद्देश्यले खड्काको संयोजकत्वमा पाँच सदस्यीय सेनिटाइजर उत्पादन समिति समेत गठन गरिएको छ । जसको सदस्यमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाई, प्रध्यापक पदमराज जोशी, सबिता ढुङ्गाना र युवा बैज्ञानिक राजेन्द्र विष्ट रहेका छन् ।