सुर्खेत । पछिल्लो तीन दिनमा मात्र कर्णाली प्रदेशमा ७ हजार ५५ जना व्यक्ति भित्रिएका छन् । उनीहरु प्रदेश प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट गाडीमा आएका हुन् ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबारदेखि शनिबारसम्म स्थानीय तह र प्रदेश सरकारले उद्धार गरी उनीहरुलाई गन्तव्यमा पुर्याएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार यसरी भित्रिनेमा सबैभन्दा बढी कालीकोटका २ हजार ३ सय ६८ जना र त्यसपछि जुम्लाका १ हजार १ सय ८२ जना रहेका छन् ।
दैलेखका ७ सय ८१ जना, जाजरकोटका ६ सय ९९ जना, डोल्पाका ६ सय ११ जना, सुर्खेतका ५ सय ५० जना, मुगुका ५ सय १३ जना, सल्यानका १ सय ८५ जना र रुकुम पश्चिमका १ सय ६६ जना उद्धारपछि जिल्लामा पुगेका उनको भनाइ छ । ‘यो पछिल्लो संख्या हो, लकडाउनपछि थप व्यक्तिको पनि उद्धार भएको छ,’उनले भने, ‘पछिल्लो तीन–चार दिनयता भने संख्या ह्वात्तै बढेको छ ।’ उद्धार हुनेमा हुम्लाका एकजना पनि नरहेका र आइतबार प्रवेश गर्नेको संख्या हालसम्म प्राप्त संकलन हुन नसकेको उनले बताए ।
अधिकांश व्यक्तिहरु सिधै घरमा पुग्ने गरेका छन् । उनीहरुको आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) त टाढाको कुरा सामान्य स्वास्थ्य परीक्षणसमेत हुन सकेको छैन । अर्कोतर्फ कर्णालीमा यो संख्यालाई धान्ने क्वारेन्टाइनको क्षमतासमेत छैन ।
कर्णालीका १० वटै जिल्लामा स्थानीय तह र प्रदेश सरकारले बनाएका क्वारेन्टाइनको क्षमता ३ हजार ७ सय २२ बेड रहेको जिल्ला प्रशासन कार्यालयहरुको तथ्यांकमा उल्लेख छ । त्यसमाथि भारतलगायत संक्रमित मुलुकबाट फर्किनेको संख्या पनि अत्यधिक रहेको छ । जिल्ला प्रशासन कार्यालयहरुको विवरणअनुसार चैत १ गतेयता ५ हजार ७ सय ७६ जना विदेशबाट फर्किएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले आरडीटी परीक्षणको लागि किटको अभाव रहेको बताइन् । उनका अनुसार संघीय सरकारले दुईपटक गरेर ८ हजार किट पठाएको थियो । उक्त किट सबै जिल्लामा वितरण भइसकेको छ । करिब ५ हजारको त नतिजासमेत आइसकेको छ । थप १० हजार किट माग गरे पनि संघीय सरकारले उपलव्ध नगर्दा परीक्षणमा समस्या भएको उनले बताइन् ।
साभार : ईकान्तिपुर डटकम