शुक्रबार, असोज १८, २०८१

कोरोना रोकथामका लागि कर्णाली प्रदेश सरकार र पार्टी नेतृत्वबिच अन्तरक्रिया

  
कर्णाली टाइम्स आइतवार, बैशाख १४, २०७७

सुर्खेत ।  कोरोना रोकथामका लागि कर्णाली प्रदेश सरकार र पार्टी नेतृत्वबिच अन्तरक्रिया गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको उच्च नेतृत्व बिच सरकारका कामकारवाही तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको विषयमा आइतबार अन्तरक्रिया गरिएको हो ।
प्रदेश ईन्चार्ज जनार्दन शर्मा भर्चुअल प्रविधिको माध्यमबाट सहभागि भएको अन्तरक्रियामा मुख्यमन्त्री महेन्द्रवहादुर शाही लगायत सवै मन्त्रीहरुले कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीको सम्वन्धमा पार्टी नेतृत्वलाई जानकारी दिएको सरकारकी प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
अन्तरक्रियामा अहिलेको प्राथमिकता कोरोना रोकथाम, नियन्त्रण तथा संक्रमणको जोखिम कम गर्नु भएको बताउदै पुर्वमन्त्री एवं नेकपाका कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मालेले सरकारको सम्पुर्ण ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिएका थिए ।
ईन्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोना विरुद्ध लडन आन्तरिक तयारीलाई तिब्र बनाउने तथा लकडाउन खुलेपछि आईपर्ने सम्भावित चुनौतिहरुको हल गर्ने गरि आगामी रणनीति तयार गर्न पनि सुझाव दिएको मन्त्री केसीले बताइन् ।
ईन्चार्ज शर्माले कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसंग पहलकदमी लिएको वताउदै स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामाग्री र उपचारमा मात्र वजेट परिचालन गर्न आग्रह गरेका छन् । सानो त्रुटीले पनि सरकारका विरुद्ध ठुलो प्रश्न उठ्ने बताउदै पारदर्शी प्रक्रियाबाट प्रभावकारी कदम चाल्नुपर्नेमा इन्चार्ज शर्माले जोड दिएको मन्त्री केसीले बताइन् ।
कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्ती लगायतले पार्न सक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने भन्दै उहनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट निर्माणमा हतारो नगर्न सुझाव दिएका थिए ।
अन्तरक्रियामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीसहित सबै मन्त्रीहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा र प्रदेश ईन्चार्ज जनार्दन शर्माको सहभागिता रहेको थियो ।