सुर्खेत । वीरबहादुर खत्री एक कृषि मजदुर हुन् । उनी वीरेन्द्रनगर–११, गाग्रेतालमा अवस्थित सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फर्ममा सपरिवार बस्छन् । पाँच साता लामो लकडाउनले विशेष गरी मजदुर वर्ग मारमा परिरहेका बेला उनको दैनिकमा भने खासै प्रभाव परेको छैन । ‘सबैले लकडाउन छ, दुःख भयो भन्छन्, हामीलाई त यसको कुनै मतलव छैन,’ ४० वर्षीय खत्री भन्छन्, ‘काम गरिरहेका छौं, माल सामान पनि गइरहेको छ ।’
करिब ६ विगाहामा फैलिएको फर्मको सम्पूर्ण जिम्मा उनको काँधमा छ । परिवारका पाँचजना सदस्य बिहानदेखि साँझसम्म फर्ममा काम गर्छन् । स्थानीय जातका कुखुरादेखि टर्की, गाई, माछा पालिएका छन् । तरकारी, घाँस विभिन्न जातका रुख पनि लगाइएको छ । ‘लकडाउनको बेला त हाम्रो काम अझ बढेको छ,’ उनले भने, ‘हामी बाहिर जाँदैनौं, तर मान्छेहरु यहिँ आएर सामान लिइरहन्छन् ।’
खत्री दैनिकजसो आफ्नो कृषि फर्मबाट करिब ३ सय मिटर टाढाको रत्न राजमार्गमा मजदुरको बिचल्ली देख्छन् । कोही गाडीमा त कोही पैदल भोकभोकै घरतिर लागिरहेको देख्दा उनको मन खिन्न हुन्छ । फर्म सञ्चालकको मायाले आफ्नो र परिवारको बिचल्ली नभएकोमा भने खुसी महसुस गर्छन् । खत्रीका अनुसार फर्मले उनको परिवारलाई खाने, बस्ने व्यवस्था गर्नुका मासिक न्यूनतम तलब दिने गरेको छ । बालबालिकाको सम्पूर्ण अध्ययन खर्च पनि व्यहोर्नुका साथै दुई छोरा–छोरीलाई पकेट खर्चबापत मासिक जनही १० हजार दिने गरिएको उनले बताए । ‘मालिकबाट यस्तै सुविधा र माया अरु मजदुरले पनि पाए कति राम्रो हुँदो हो,’ उनले भने, ‘लकडाउनको बेला त यस्तो मायाले झन् काम गर्ने हौसला दिँदो रहेछ ।’
फर्म सञ्चालक केसीले देशभर लकडाउन भए पनि आफ्नोमा काम गर्ने मजदुरलाई त्यसको महसुस हुन नदिएको बताए । ‘आर्थिक रुपमा हाम्रो फर्मलाई पनि केही असर पर्ने निश्चित छ,’ उनले भने, ‘तर मजदुर परिवारलाई भविष्यमा पनि यसको कुनै प्रभाव पर्न दिइने छैन ।’
निजामति सेवाका अधिकृत र आधिकारिक ट्रेड यूनियनका केन्द्रीय सदस्यसमेत रहेका केसीले करिब ५० लाख रुपैयाँ लागतमा चार वर्षअघि फर्म सुरु गरेका हुन् । शिक्षित र रोजगारीमा रहेका व्यक्तिले पनि कृषि पेशालाई सम्मान र प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यका साथ कृषि व्यवसाय सुरु गरेको उनको भनाइ छ ।