सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरसको संक्रमण रोकथामको लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहलाई गरी १४ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रदेश सरकारको राहत कोषमा पाँच लाख र स्थानीय तहहरुलाई नौ लाख गरी १४ लाख रुपैयाँ सहयोग गरेको हो ।
सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका २३ वटा स्थानीय तहलाई कोरोना संक्रमण रोकथामका लागि रकम उपलब्ध गराएको संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले जानकारी दिए । नेपाल सरकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा राहत वितरण अभियानमा सहयोग पुग्नेगरी बुधवार संस्थाको केन्द्रीय कार्यालयबाट प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई तथा १२ वटा शाखा मार्फत स्थानीय तहहरुलाई उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष आचार्य र सचिव राधाकुमारी ढकालले नेपालमा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै समुदायसँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले सरकारको अभियानलाई सहयोग रकम प्रदान गरेको बताए ।
संस्थाले बुधवार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सहकारी मन्त्री विमला के.सी मार्फत कर्णाली प्रदेश सरकारलाई पाँच लाख तथा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख मोहनमाया ढकाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।