शुक्रबार, असोज २५, २०८१

वीरेन्द्रनगरले नगदे बाली लगाउने किसानलाई ८० प्रतिशत अनुदान दिने

  
कर्णाली टाइम्स आइतवार, बैशाख २१, २०७७


 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड१९) को कारणले देश लामो समय लकडाउन रहेको कारणले कृषि क्षेत्र प्रभावित हुनसक्ने भन्दै चालु आर्थिक बर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो ।
लकडाउनको कारणले बिभिन्न बालीको खेती गर्न बीउबिजन, मल प्राप्त गर्न कठिनाई हुने कृषकहरुको लागि चालु आर्थिक वर्षका विभिन्न तालिम गोष्ठी आन्तरिक भ्रमण लगायत चालु खर्च तर्फ विनियोजिन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानहरुलाई अनुदान दिन लागेको नगरपालिकाले जनाएको छ ।
धान, मकै, बोडी, फर्सी,लौका, सिमी, चिचिण्डा, घिरौंला लगायतका सिजनल तरकारी बालीको बीउबिजनहरुमा ८० प्रतिशत अनुदान दिने निर्णय भएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘मल तथा बिषादिमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं ।’ उनले भनिन्, ‘नगरपालिकाका विभिन्न क्षेत्रहरुमा ब्यावसायिक फलफूल खेती गर्न चाहने ब्यक्ति फर्महरुले कम्तीमा ३०० बिरुवा रोप्ने गरी आफ्नै जग्गाको ब्यवस्थापनसहित प्रस्ताव पेश गरेमा कम्तीमा ५० प्रतिशत अनुदानमा निर्णय समेत भएको छ ।’
नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमिनमा खेती गर्ने र बाँझो नराख्न सबै जग्गा धनीहरुलाई आग्रह गर्ने उपप्रमुख ढकालले बताइन् । ‘कुनै जग्गा धनी आफैले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नराख्ने निर्णय भएको छ ।’ उनले भनिन्,‘कुनै जग्गा धनीले खेती गर्न नसक्ने भए कुनै कृषकलाई जग्गा प्रयोग गर्न दिइने छ ।’
खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदुरहरुलाई भौतिक दूरी कायम गरि कार्य निरन्तरता दिने र उनीहरुको ज्याला पाउने ब्यवस्था गरी राहत उपलब्ध नगराउने नगरपालिकाले निर्णय गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
कृषि कार्य र विकास निर्माणका कार्य गर्न सम्भव नभई खाद्य संकट रहेका मजदुरहरुलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको छ ।