सोमवार, मंसिर १७, २०८१

नेपालगञ्जमा एकैदिन भेटिए ९ जना कोरोना संक्रमित

  
कर्णाली टाइम्स आइतवार, बैशाख २१, २०७७

सुर्खेत । नेपालगञ्जमा एकैदिन नौ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ती संक्रमित फेला परेको उपमहानगरले जानकारीदिएको छ । शनिबार नेपालगञ्ज महानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गर्दा ‘तीमध्ये नौ जनामा आज कोरोना पोजेटिभ देखिएको उपमेयर उमा थापा मगरले बताइन्।
उनीहरूको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उपमेयर थापाले जानकारी दिइन्।

‘कोरोना देखिएकाहरू क्वारेन्टाइनमा थिएनन्, उनीहरू आआफ्ना घरमा थिए,’ उनले भनिन्, ‘उनीहरू मध्ये कोही हालसालै विदेशबाट आएका हुन् कि होइनन् बुझ्दैछौं।’

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ दिएको थियो। भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो। उनी स्थानीय मदरसामा पढाउने गर्थे। आज भेटिएका संक्रमितहरू पनि ती पुरूषको सम्पर्कमा आएको हुनसक्ने आशंका गरिएको छ। नेपालगञ्जमा कोरोना देखिएका नौ जनामध्ये पाँच जना पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरू ७ देखि ५८ वर्ष उमेरका छन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आज नेपालगञ्जमा नौ र पर्सामा एक जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो।