शनिबार, कार्तिक २४, २०८१

कर्णाली प्रदेश सामाजिक विकास समितिको बैठक सम्पन्न

  
कर्णाली टाइम्स बुधबार, बैशाख २४, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभा अन्तरगत गठित सामाजिक विकास समितिको बैठक  बुधबार (विद्युतीय माध्यमबाट भर्चुअल) सम्पन्न भएको छ ।
उक्त बैठकमा कोरोना महामारीको कारणबाट मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका अझ क्रियाशिल हुनुपर्र्ने विषयमा  छलफल भएको छ ।
विशेष गरी वर्तमान परिवेशमा कोभिड–१९ को कारण सिर्जना भएको परिस्थितसँग सामान गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी दिनमा तय गर्नु पर्ने नीतिगत व्यवस्थाका विषयमा छलफल भएको छ ।
उक्त बैठकले कोभिड–१९ का विषयमा, कृषि उत्पादकत्व कसरी बृद्धि गरी कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउँन सकिन्छ भन्ने विषय र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तय गर्नु पर्ने विशेष कार्यक्रमका विषयमा छलफल भएको छ । आगामी बैठकमा समितिको क्षेत्राधिकार मित्र पर्ने दुवै मन्त्रालयका मन्त्रीलाई बैठकमा बोलाउने निर्णय हुनुका साथैप्रत्यायोजित विधायनका सम्वन्धमा र समितिमा विचाराधिन रहेको स्वास्थ्य सेवा विधेयकमाथि विषय विज्ञसँग परामर्श गरी विधेयकलाई समयअनुकूल बनाउने निर्णय भएको छ ।
सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बसेको बैठकमा कृष्णा शाह, कौशिलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर वि.सी., रातो कामी र सुशीलकुमार थापाको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समितिको अर्को बैठक सामाजिक विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग समन्वय गरी यथाशक्य छिटो बस्ने निर्णय भएको कुरा समितिका सचिव राजेन्द्र पौडैल जानकारी दिए ।