सुर्खेत । बागेश्वरी असल शासन क्लब (बास) की पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १२ औं बार्षिक पूण्यतिथीमा बासले दुई परिवारलाई खाद्यान्न सहयोग गरेकोे छ । शनिबार सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट जानकी गाउँपालिका वडा नम्वर २ भैयापुरकी संगिता फुयाँल र खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुरका दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
उनीहरुलाई २५ किलोको एक प्याक चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगायत खाद्यान्न सामग्री बासका अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका थिए ।
संगिता, नेपालगञ्ज स्थित भेरी एफ.एममा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । उनी नेपाल प्रेस ईन्स्टिच्युट, क्षेत्रिय सञ्चार स्रोत केन्द्रमा कार्यरत गंगा फुयाँलकी धर्म पत्नी हुन् । क्यान्सर रोगबाट पीडित गँगाको २०६९ असोज १७ गते निधन भएको थियो । उनको निधन भए पश्चात घर खर्च चलाउन संगितालाई असहज भईरहेको छ । उनका १ छोरा, १ छोरी छन् । छोरा नेपालगञ्ज बहुमुखि क्याम्पसमा अध्ययनरत छन् भने छोरी ज्ञानोदय बिद्या निकेतनमा कक्षा १० मा अध्ययनरत छन् ।
जय बहादुर दृष्टिबिहिन हुन् । उनले बिगत १२ बर्ष देखि नेपालगञ्जको मालपोत, भेरी अस्पताल अगाडी लगाएतका स्थानहरुमा बसेर गित गाउने काम गरिरहेका छन् ।यसरी नै उनले दैनिक खर्च चलाउँदै आएका उनलाई लकडाउनका कारण समस्या परेको छ । ३९ वर्षीय जयलाललाई ५ जनाको परिवार पाल्न मुस्किल परेको छ । उनका २ छोरी, १ छोरा छन् । उनकी श्रीमती पनि न्यून दृष्टि बिहिन छन् ।
सहयोग पाएपछि संगिताले राहत भएको बताइन् । उनले दुःखी, गरिवहरुलाई यसरी सहयोग गर्नु ठूलो कुरा भएको बताईन् । यस्तै जयलाल बिश्वकर्माले पनि लकडाउनमा आफुलाई समस्या भइरहेका बेला बासले गरेको सहयोगप्रति धन्यवाद दिए । कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको व्यक्तित्व, बासमा शाहको संलग्नता र योगदान बारे चर्चा गर्दै बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए ।
बासका निवर्तमान केन्द्रीय अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा बासकी केन्द्रीय सदस्य मुना बिष्ट, असल शासन कार्यकर्ता शुद्ध चौधरी, असल शासन प्रतिनिधि रुपा चौधरी, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराको उपस्थिती रहेको थियो ।
कर्णाली टाइम्स
शनिबार, बैशाख २७, २०७७