बुधबार, फागुन ९, २०८०

‘कर्णालीका सात हजार जनाको स्वाब एकै पटक संकलन गरिने’

  
कर्णाली टाइम्स आइतवार, बैशाख २८, २०७७

सुर्खेत । कर्णाली प्रदेशका सात हजार नागरिकको एकै पटक स्वाब संकलन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत बाहिरबाट आएका नागरिकलाई खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथमिकता दिने भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल सहितको टोली जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन सहित जिल्ला जिल्लामा खटाउने काम शुरु गरेको छ ।
कर्णाली प्रतिष्ठानले जुम्लामा आयोजना गरेको अन्तरक्रियामा जुम्ला पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न उत्प्रेणा दिदै सरकारको तयारीका बिषयमा जानकारी गराएका हुन् ।
उनका अनुसार कर्णालीका सात सय १८ वडाका १० – १० जनालाई नमूनाका रुपमा जाँच गर्ने अभियानका साथ अभियान तिब्र पारिएको छ । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई पहिला आफु सुरक्षित भएर मात्रै काम गदै गएपछि प्रदेश सरकारले त्यसको मुल्याङ्कन गर्ने बताए ।
७५ लाख रुपैया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थपिएको जानकारी दिए । यस अघि पनि एक करोड रुपैयाँ प्रदेश सरकारले प्रतिष्ठानलाई उपलब्ध गराइसकेको र कर्णाली प्रदेशका २७ स्थानमा चिकित्सक सहितको टोली खटाएर स्वाब संकलन गर्ने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए । उनले साविक कर्णालीको कर्णाली प्रतिष्ठानमा, अन्य जिल्लाको प्रदेश र चौरजहारी सामुदायिक अस्पतालमा जाँच गरिने जानकारी दिए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारले दिएको जिम्मेवारी अहिले संकटको वेला प्रतिष्ठानले डटेर गरिरहेको, डाक्टर र एमडिजिपी पढाई भएमा कर्णाली मात्रै नभई मुलुकलाईनै सेवा दिने जनशक्ति प्रतिष्ठानले दिन सक्ने बताए । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले हाल सम्म प्रतिष्ठानले कोभिड –१९ ( कोरोना भाईरस ) रोकथामका लागि गरिरहेका कामको बिषयमा जानकारी समेत गराएका थिए ।
प्रतिष्ठानले खटायो चिकित्सक
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक टोली सहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । हुम्लामा आजै ८ जना हुम्लाको सर्केघाट, ताजाकोट, अदानचुलीमा ८ जनाको टोली हेलिकोप्टर मार्फत पठाएको छ । यसैगरी जुम्लाका सवै स्थानीय तहमा डांकटर सहितको टोली खटाउनुका साथै मुगुमा पनि हेलिकोप्टर मार्फत टोली खटाएको छ । जुम्लाबाट चिकित्सकको टोली सँगै सामाजिक विकास मन्त्री दल रावल हुम्ला पुगेका हुन् ।
यसैगरी मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर प्रयोगशाला, आईसियू कक्ष र आईसोलेसन वेडहरु सहित पूर्वाधारको अनुगमन समेत गरेका छन् ।