आइतवार, असार ३, २०८१

कर्णाली सरकारले अनिश्चित नाका बन्दी गर्दा ग्याँस अभाव

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रने मुख्य नाका सिल गरेपछि खाना पकाउने ग्याँसको अभाव भएको छ । बैशाख २२ गते रातिदेखि लागु गरिएको नाका सिल गर्ने निर्णयले अत्यावश्यक वस्तु ढुवानीमा समेत सरकारले रोक लगाउँदा कर्णालीमा ग्याँस अभाव भएको हो ।
कर्णाली ल्याउन तयारी अवस्थामा राखिएका ग्याँस लोड गरिएका सवारीहरु विभिन्न ठाउँमा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्णाली भित्रने ग्याँस बोकेका गाडीहरुबाट कोरोना भाइरस भित्रने भन्दै अनुमति नै नदिएको एक व्यवसायीहरुको गुनासो छ । सुर्खेतमा भेरी, राप्ती, मनकामना र रेडियन्स ग्याँसका विक्रेताहरु छन् । आठौं दिनदेखि ग्याँस आपूर्ति गर्न अनुमति नपाउँदा ग्याँस ढुवानी गर्न नसकिएको नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपकप्रसाद घिमिरेले जानकारी दिए ।
उनकाअनुसार विभिन्न जिल्लाबाट ग्यास भर्न पठाउन लागिएका झण्डै १० हजार खाली सिलिण्डर सुर्खेतमा रोकिएका छन् । सुर्खेत ल्याउन तयारी अवस्थामा रहेका मनकामना र भेरी ग्याँस बोकेका गाडी नेपालगञ्ज तथा रेडियन्स ग्याँसका धनगढी र राप्ती ग्याँसका दाङको अमेलियामा रोकिएको प्रमुख घिमिरेले बताए ।
‘अत्यावश्यक वस्तु ग्यास ढुवानीमा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको छु’ प्रमुख घिमिरेले भने, ‘अनुमति नदिँदा कर्णाली सरकारले लागु गरेका नाका सिलले कुनै पनि कम्पनीका ग्याँस ढुवानी गर्न सकिएको छैन् ।’
सोमबार बिहानसम्म भेरीका ११, मनकामनाका एकसय ३५, राप्तीका ३२ र रेडियन्सका ५० ओटा मात्रै भरी ग्याँस मौज्दात छ । कर्णालीमा दैनिक सरदर एक हजार पाँचसय ग्याँस आपूर्तिहुँदै आएको घिमिरेको भनाई छ । लकडाउनका क्रममा दैनिक सरदर एकहजार ग्याँस सिलिण्डर बिक्रीहुँदै आएको छ ।