सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएको बताएका छन् ।
लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताए ।
विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सबै शक्तिका साथ लडिरहेको बताउदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।
अत्यावश्यक सामाग्रीको आपुर्ति बाहेकका अन्य ब्यापार ब्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै उनले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व रहेको बताए ।
‘अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं,’ उनले भने, ‘संकट ब्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य हो ।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको जानकारी दिंदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्वन्धमा नीजि क्षेत्रले सुझाव समेत दिन आग्रह गरे ।
‘कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्ने सरकारको सोच छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्बोधन कसरी गर्न सकिन्छ ? तपाईहरुको सुझाव सरकारलाई चाहिएको छ ।’
उनलेले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेकोले विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि संगै लिईने प्रतिवद्धता व्यक्त गरे ।
कर्णाली टाइम्स
सोमवार, जेष्ठ ५, २०७७