आइतवार, मंसिर ३०, २०८१

कर्णालीमा कोरोना दुई पटक परीक्षण गरिने, २१ दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ ८, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले कोरोना परीक्षण दुईपटक गर्ने र २१ दिन सम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने रणनीति अपनाएको छ । सोमबार दैलेखको आठबिस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रतिकार्य अभियानलाई थप प्रभावकारी बनाउन भारतबाट आएका व्यक्तिको दुई पटक कोरोना परीक्षण गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नाकाबाट प्रवेश गर्दा र क्वारेन्टाइन अवधि पूरा गरेपछि गरेर एकै व्यक्तिको दुई पटक कोरोना परीक्षण गरिने बताए । ‘गाउँ फर्कने सबैलाई प्रदेशको नाकामा र्यापिड टेष्ट गरेर मात्रै सम्बन्धित गाउँपालिकामा पठाउँछौं’, मन्त्री रावलले भने, ‘भारतबाट आउने सबैलाई नाकामा एक पटक र क्वारेन्टाइनको अवधि पूरा भएपछि अनिवार्य रुपमा पीसीआर परीक्षण गर्छौं ।’
त्यस्तै भारतबाट आउनेहरु १४ दिन क्वारेन्टाइन बसेपछि पनि पुनः घरमा होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रदेश सरकारले जनाएको छ। ‘दुई पटक परीक्षण गर्दापनि संक्रमित पत्ता नलाग्न सक्छ’, उनले भने, ‘भारतबाट आउनेहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन र ७ दिन होम क्वारेन्टाइन गरी जम्मा २१ दिन क्वारेन्टाइन बस्नुपर्छ ।’ भारतबाट आएका नागरिकबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको प्रदेश सरकारको निष्कर्ष छ ।