सुर्खेत । जाजरकोटबाट संविधान सभा सदस्य निर्वाचित पूर्व सांसद तथा कुमारी ट्रष्टका अध्यक्ष राजीव विक्रम शाहले कर्णाली प्रदेश अस्पतालसहित कर्णालीका जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहमा एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । शुक्रबार प्रदेश अस्पतालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र सुरक्षा निकायका व्यक्तिहरुको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख तथा निर्देशक डा. डम्मर खड्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटर लगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्री दिइएको छ । यस्तै कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ । स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हुम्ला जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, मुगु जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर सहयोग गरिएको छ ।
त्यसैगरी डोल्पा जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, कालिकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, दैलेख जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी भ्याकुम सेट, जाजरकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजर, सल्यान जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर र रुकुम पश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर दिईएको कुमारी ट्रष्टका अध्यक्ष तथा पुर्व सांसद राजिवबिक्रम शाहले बताए । ‘हामीले कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरेका हौं ।’ उनले भने, ‘कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौगोलिक विकटता मात्र यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको छ ।’
शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच ठुलो राहत भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘यो अप्ठारो परिस्थीतिमा गरिएको सहयोग भोको मान्छेलाई खाना दिएजस्तै हो,’ मुख्यमन्त्री शाहीले भने, ‘हामी अहिले सबै कोरोना बिरुद्ध लडिरहेका छौं र कर्णालीमा स्वास्थ्यको पहुँच बृद्धि गर्नका लागि सदैव तयार गरेको छु ।’
अहिले कर्णालीमा कोरोनाका विरुद्ध सर्च अभियान चलाएको बताउँदै उनले सबै वडा तहमा स्वास्थ्यकर्मीको टिम पठाई कामहरु अगाडी बढाएको जानकारी दिए ।
उनले भारतबाट आएका नागरिकका कारण बढी चुनौती थपिएकोले यसको व्यवस्थापनमा सरकार लागि परेको बताए ।
भारतमा रहेका ८० हजार नेपाली नागरिक मध्ये २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेका छन् । त्यीनीहरुको व्यवस्था गर्नु प्रमुख चुनौती रहेको बताए ।
प्रदेश अस्पतालका निर्देशक तथा प्रमुख डाक्टर डम्मर खड्काले अस्पताललाई अझै पनि सहयोगी हातको आवश्यक रहेको औंल्याउँदै सबैको सहयोगले अगामी दिनमा अस्पताललाई सुविधा सम्पन्न गराउने बताए ।
यस्तै कर्णाली प्रदेशमा कार्यरत नेपाल प्रहरी र पत्रकारहरुलाई सर्जिकल मास्क र सेनिटाइजर पनि वितरण गरिएको छ ।
फोटोहरु