सोमवार, मंसिर १७, २०८१

कर्णालीका थप ५ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या९ पुग्यो

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १२, २०७७


सुर्खेत । कर्णालीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै कर्णालीमा जम्मा संक्रमितको संख्या ९ जना पुगेको छ । पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । डाक्टर खड्काका अनुसार अन्य एक दुईवटा केसहरु पनि पिसीआरमा संकास्पद देखिएका छन् ।
दैलेख सदरमुकाम नारायण नगरपालिका ३ का १५ वर्षीय र नारायण नगरपालिका ६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका १ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र त्यही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।
संक्रमण पुष्टि भएका पाँचै जनालाई सदरमुकामको सरस्वती माविमा रहेको कोरोना आइसोलेशन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसँगै एक वर्षीय बालक पनि आइसोलेशनमा राखिएको छ । दैलेखमा कोरोना संक्रमितको संख्या ६ जना र सुर्खेतमा ३ जना गरि जम्मा संक्रमितको संख्या ९ पुगेको हो ।