शुक्रबार, असोज १८, २०८१

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो, अब पुनः परिक्षण गर्न बाहिर नपठाइने

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १२, २०७७

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।  सामाजिक विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । यस्तै सुर्खेतमा ३ जना रहेका छन् । पहिला दैलेखका १ जना आइतबार थप पाँच र सोमबार २ गरि दैलेखमा ८ जना पुगेको छ । दैलेखमा ८ जना गरि कर्णालीमा जम्मा संक्रमितको संख्या ११ पुगेको हो ।
यस भन्दा पहिला कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाउनुपर्थ्यो भने अब सुर्खेतबाटै जाँच भएको रिपोर्टलाई आधिकारिक मानिने प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए । ‘WHO को मापदण्ड अनुसार कम्तिमा ५ वटा रिपोर्ट अर्काे ल्यावबाट पुनः परीक्षण गर्नुपर्ने नियम अनुसार हामीले यसभन्दा अगाडिका रिपोर्ट नेपालगञ्ज पठाउने गरेका छौं,’ डाक्टर खड्काले भने, सो मापदण्ड अनुसारको संख्या पुरा गरेपछि अब कोरोनाको अन्तिम रिपोर्ट सुर्खेतबाटै आउनेछ ।’
आइतबार भेरी अस्पताल, नेपालगञ्जमा दैलेख सदरमुकाम नारायण नगरपालिका ३ का १५ वर्षीय र नारायण नगरपालिका ६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका १ का २९ वर्षीय एक पुरुषसँगै २५ वर्षीया उनकी श्रीमती र त्यही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै सोमबार कर्णाली प्रदेश प्रयोगशालामा गुराँस गाउँपालिकाका २४ र २९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कर्णाली प्रदेश अस्पतालका अनुसार उनीहरु सबै भारतबाट आएका हुन् ।
यस अघि भेरी अञ्चल अस्पताल नेपालगञ्जको पीसिआर रिपोर्ट अनुसार सुर्खेत बाराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका १ जना र आठविस नगरपालिका दैलेखका १ जना गरी ४ जनामा कोरोना देखिएको थियो ।