बिहीबार, असोज २४, २०८१

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका नागरिकले नै प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण गरेपछि•••

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २१, २०७७
स्वास्थ्य परिक्षणका लागि क्वारेइनमा पुगेका प्रमुख प्रशासकीय अधिकृत थापा सहित अन्य स्वास्थ्यकर्मीहरु ।

सुर्खेत । दैलेखको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि बुधबार क्वारेन्टाइनमा बसेका नागरिकले आक्रमण गरेका छन् । भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले अधिकृत थापामाथि आक्रमण गरेका हुन्।

उनीहरुले अधिकृत थापासहित भैरबी गाउँपालिकाका–४ का वडाध्यक्ष वीरेन्द्र शाही, क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गाउँपालिकाको भवनदेखि २ सय मिटरको दुरीमा रहेको स्थानीय एक जना व्यक्तिको घरमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले आक्रमण गरेका हुन्।

बुधवार क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो। आरडीटी परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएकाहरुलाई घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिका स्राेतले बताएकाे छ । घर पठाउन तयारी गरिरहेको बेला गाउँपालिकाको स्टोर हेर्न पाउनु पर्ने माग राख्दै करिब ४६ जनाको समुह आन्दोलनमा उत्रिएर ढुंगामुढासमेत गरेका थिए । आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत थापा घाइते भएका छन्। थापाको छात्ती, टाउको, निधार र गालामा चोट लागेको छ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानुनी कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिबहादुर ओलीले बताए।