सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने भएको छ । कार्यकारी परिषद्को बैठकले गरेको निर्णयलाई बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
अनावश्यक रुपमा ओभरटाइम (ओटी) खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेशासँग जोडिराख्न यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति र रजिष्ट्रारले महिनामा २ कक्षा, डीन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले महिनामा ४, सहायक डीनले महिनामा ६, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक क्याम्पस प्रमुखले नियमित सरह कक्षा लिनुपर्ने निर्णय गरिएको छ ।
विश्वविद्यालयका प्रवक्ता डिल्लीबहादुर सिंहका अनुसार विश्वविद्यालयमा स्थायी, करार वा आंशिक शिक्षकको रुपमा नियुक्ति गर्दा एमयूबाटै गोल्ड मेडलिस्ट, विशिष्ट श्रेणी वा प्रथम श्रेणी हासिल गरेकालाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ ।
६ महिनाअघि उपकुलपति भएर आएका प्रा. डा. नन्दबहादुर सिंहले पहिलो पत्रकार सम्मेलन गर्दै साढे २ वर्षभित्र सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार विकासको योजना सुनाए । विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने गरी तयार कार्ययोजना पूरा भएमा एमयू अन्तर्राष्ट्रिय स्तरकै नमुना बन्ने बताउँदै राजनीतिक दबाब र प्रभावमा नपरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।