सोमवार, मंसिर १७, २०८१

दैलेखमा ३ जनाको मृत्यु, १ जना बेपत्ता

  
जगतदल जनाला विक बुधबार, भदौ ३, २०७७

सुर्खेत। मंगलबार राति परेको वर्षापछि आएको बाढीपहिरोमा परी दैलेखमा ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर दैलेखका ठाँटीकाँध गाउँपालिका–४, गैरागाउँका ४५ वर्षीय टिकाराम कठायतको घर पुरिँदा उनका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको छ ।

पहिरोमा पुरिँदा टिकाराम कठायत , उनकी ४१ वर्षीय श्रीमती धनसरा कठायत, उनका १५ वर्षीय छोरा सम्शेर कठायत र टिकारामको घरमा सुत्न आएका वर्ष २५ का बम्ब नेपाली घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

वडा नम्बर ४ कै दानबहादुर कठायतका ११ वर्षीय छोरा लोकेश कठायत बेपत्ता भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत ल्याउने तयारी थालेको प्रवक्ता बास्तोलाले बताए । बेपत्ताको खोजीकार्य भइरहेको छ ।

त्यस्तै, दैलेखको भगवतीमाई गाउँपालिका– ५ कट्टीमा आएको पहिराले घर भत्काउँदा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको छ ।
दैलेखकै नौमुले गाउँपालिका– ५, भित्री खोलाछेउमा खोलाले बगाएर मृत्यु भएका १ जना पुरुषको शव फेला परेको छ । उनको सनाखत भइसकेको छ प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।