सुर्खेत । भदौ ११ गते बिहीबार बिहान दैलेखको ठाँटीकाँध गाउँपालिका –१ सिराडीकी २३ वर्षीया पार्वती शाहीलाई सुतकेरी व्यथा लाग्यो । सुत्केरी व्यथा लागेपछि उनका आफन्त र गाउँलेको सहयोगमा स्ट्रेचरमा उनलाई लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइयो । ११ बजे स्वास्थ्य केन्द्रमा भर्ना गरेकी शाहीले दिउँसो ३ बजे छोरी जन्माइन् ।
एक –दुई घण्टा पछि उनलाई एक्कासी रक्तस्राव हुन थाल्यो । नर्मल बच्चा जन्माएकी उनको अवस्था देखेपछि डाक्टरहरु आत्तिए ।
पार्वतीका आफन्तले अन्य अस्पतालमा रेफर गर्न अनुरोध गरे । डाक्टरहरुले गाउँपालिका अध्यक्षलाई सबै कुरा बताए । अध्यक्षले इमरजेन्सी केस भनेपछि हेलिकप्टरको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यायमा फोन गरे । जिल्ला प्रशासन कार्यालयले रातीमा हेलिकप्टरको अनुमति नभएको जवाफ दियो । गाडीको व्यवस्था मिलाएर कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइयो ।
यी सबै व्यवस्था मिलाउँदासम्म बिरामीलाई अत्याधिक रत्तस्राव भइसकेको थियो । साँझ ६ बजे मात्र कर्णाली प्रेदेश अस्पताल कालागाउँमा पार्वतीलाई पुर्याइयो । अस्पतालमा ठिला पुर्याएका कारण उपचार गर्दा गर्दै उनको मृत्यु भयो । राति १२ बजे अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो ।’ पार्वतीका आफन्त सर्जन शाहीले भने, ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलि आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । राति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालले घोषण गर्यो । ’
यस्तै सुत्केरीपछि अत्यधिक रक्तश्रावकै कारण भदौ ११ गते कालीकोटको रास्कोट नगरपालिका–२ की २८ वर्षीय सीता सार्कीको मृत्यु भयो । घरमै सुत्केरी भएर समयमैं उपचार नपाउँदा बच्चा र आमा दुबैको ज्यान गयो ।
नजिकैको स्वास्थ्य चौकीमा लिएर त्यहाँ उपचार सम्भव नभएपछि सामुुदायिक अस्पताल रास्कोटमा रिफर गरियो । तर, पहिरोको कारण सडक अवरुद्ध हुँदा अस्पताल नपु¥याउँदै आमा र बच्चा दुवैको ज्यान गयो ।
‘सुत्केरी हुनै नसकेर ज्यान फाल्न बाध्य कर्णालीका आमाहरुको वेदना कसले सुनिदिन्छ ?,’ वीरेन्द्रनगर–८ की संगीता नेपालीले भनिन्, ‘समयमा उपचार र पोष्टिक आहार नपाउँदा आमा र बच्चा दुबैलाई समस्या परेको छ ।’
केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर र एम्बुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन । टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ ।
पार्वती र सीता उदाहरणीय पात्र मात्रै हुन् वर्षेनी कर्णालीका दर्जनौ आमा र बालबालिकाले अकालमैं ज्यान गुमाउने गरेका छन् ।
जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तता र स्वास्थ्य सेवाको पहुँच नहुनु जस्ता समस्याले सुत्केरी तथा शिशुले अकालमैं ज्यान गुमाउनु परेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का बताउँछन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षको अवधिमा ६१ जना सुत्केरी तथा गर्भवती महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २६ जना, आ.व. २०७५÷०७६ मा १३जना, आ.व. २०७६÷०७७ मा १८ जना सुत्केरीको मृत्यु भएको छ ।
स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली प्रदेशमा महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै बढी जोखिममा छन् । स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाहरूको सहज पहुँच पुग्न सकेको छैन । यहाँका सुत्केरी र गर्भवती महिला समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाहरूको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । समयमा स्वास्थ्य सेवा नपाउँदा बीचबाटोमा ज्यान जाने गरेको छ ।
दुर्गम ठाउँका सुत्केरी महिलाहरूको ज्यान बचाउन प्रदेश सरकार र संघीय सरकारले पनि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निःशुुल्क हवाई उद्धार गर्दै आएको छ । तर, उक्त सेवा सबै सुत्केरी महिलाको पहुँचमा छैन । केही सुुत्केरी महिलाहरूलाई उद्धार गरेर उपचार गरिए पनि दुर्गमका महिलाहरूका लागि भने प्रभावकारी बन्न सकेको छैन ।
कर्णालीका सबै स्थानीय तहमा स्वास्थ्य संस्था छैनन् । भएका ठाउँमा पनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन । जिल्ला अस्पतालले समेत उपचारका लागि रेफर गर्नुपर्ने अवस्था छ। प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन ।
नेपालको संविधानको भाग ३ दफा ३८ (२) मा सुरक्षित मातृत्व प्रजनन् दर र स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक महिलालाई नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा पाउने भनेर लेखिए तापनि कर्णालीका महिलाले गुण्स्तरीय सेवा पाउन सकेका छैनन् । यहाँका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हटेको छैन ।