मंगलबार, बैशाख १८, २०८१

बलात्कारविरुद्ध किशोरीहरुको सडक अभियान

  
कर्णाली टाइम्स बिहीबार, असोज २९, २०७७
वीरेन्द्रनगरमा  निकालिएको र्यालीमा सहभागी किशोरीहरु । तस्बिर सौजन्य : सुनिता बिसी

 

मेरो पहिलो संघर्ष नै मेरो जन्म हो
आमाको कोखमा मरिनु परेन म
यही नै मेरो राम्रो कर्म हो

सुर्खेत कालुन्चोककी बिना चन्दले यो कविता सुनाउँदा त्यहाँ उपस्थित किशोरी र बालिकाहरुको आँखा रसाए । उनी बिहीबार बढ्दो बलात्कारका घटनाविरुद्ध आयोजित किशोरीहरुद्धारा स्तस्फूर्त रुपमा निकालिएको ¥यालीमा थिइन् । बिनासहित करिब ३० जनाको संख्यामा भेला भएका उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए । अभियानमा सहभागी किशोरीहरुले कालो मास्क र कालो टि–सर्ट लगाएर विरोध प्रकट गरेका थिए । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषिलाई कारबाही नभएको भन्दै ¥याली निकालिएको अभियानकी अगुवासमेत रहेकी चन्दले बताइन् ।

कार्यक्रममा बोल्दै चिल्ड्रेन प्याराडाइजमा विद्यालयमा १० कक्षामा अध्ययनरत प्रमिशा सेजुवालले बालिका र महिलाका लागि सरकारले सुरक्षित समाज निर्माण गर्न नसकेकाले हरेक दिन बलात्कारका घटना बढेको बताइन् । ‘साँझ परेपछि ढुक्क भएर महिला बाहिर निस्कन सक्ने अवस्था कहिले आउँछ ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘हामी त्यसै सडकमा आएका होइनौं, हाम्रो आवाज सरकारले सुनोस् ।’

अभियानकी सहभागी सुनिता बिसीले बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई कडा कारवाही गर्नका सरकारले कानुन बनाउनुपर्ने माग गरिन् । उनले कडा कानुनको अभावमा निर्मला पन्त, सम्झना बिकजस्ता बालिकाकाले बलात्कृत भएपछि जीवन गुमाउनु परेको बताइन् । ‘कडा कानुन लेखिदे संविधान, बलात्कारीविरुद्ध हाम्रो अभियान’ भन्ने मूलनारा तय गरी बलात्कारविरुद्ध अभियान गरिएको उनको भनाइ छ ।