शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा वैकल्पिक शिक्षाको अवस्था नाजुक

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक ६, २०७७
भर्चुअल संवादमा सहभागी सामाजिक विकासमन्त्री दल रावल (सबैभन्दा माथि दायाँ) लगायत ।

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो ।

‘कर्णालीका शैक्षिक सवाल र भावी दिशा’ बारे शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको भर्चुअल संवादका सहभागीले कर्णालीको भौगोलिक अवस्था र मौलिकतालाई ध्यानमा राखेर छुट्टै सिकाइ विधि आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले स्थानीय तहहरुबाट वैकल्पिक विधिबाट सिकाइ निरन्तरताको प्रयास भइरहेको भए पनि त्यो पूर्ण प्रभावकारी नभएको बताए । इन्टरनेट, टेलिभिजनलगायतका माध्यममा विद्यार्थीको पहुँच कम भएकाले रेडियो र घरघरमा शिक्षक परिचालन गरेर भए पनि सिकाइ निरन्तरताको प्रयास भने जारी राखिएको उनले जानकारी दिए । माथिल्लो हिमाली भेगका विद्यालय खुला नै रहेको, तर अन्य क्षेत्रमा अझै पनि प्रभावकारी रुपमा शिक्षण सिकाइ नियमित बन्न नसकेको भन्दै मन्त्री रावलले सरोकारवालासँग मिलेर छुट्टै सिकाइ विधि तयार पार्ने काम भइरहेको बताए । ‘अब कोभिडमा मात्रै होइन त्यसपछि पनि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिने गरी काम भइरहेको छ’, उनले भने ।

कुशे गाउँपालिका जाजरकोटकी उपाध्यक्ष रामछाँया शाही गाउँपालिकामा इन्टरनेट, टेलिभिजनको पहुँच नरहेको र रेडियो पनि प्रभावकारी नभएकाले सिकाइ निरन्तरताका लागि छुट्टै वैकल्पिक विधिको खोजी गरिरहेको बताइन् । अपाङ्गता भएका बालबालिकालाई घरमै पढाउने, शिक्षा बजेट बढाउने, अनुगमन पाटोलाई प्रभावकारी बनाउने, शिक्षकको क्षमता बढाउने आदि काम अगाडि बढाइरहेको उनको भनाइ छ । उनले एक वडामा १ नमूना विद्यालय र कोभिडको समयमा सिकाइ निरन्तरताका लागि घरघरमा गृहणी शिक्षा अगाडि बढाउने काम भएको बताइन् ।

आठवीस नगरपालिका दैलेखकी उपप्रमुख दिपा बोहराले कर्णाली प्रदेशमै सबैभन्दा शिक्षा कार्ययोजना बनाउने काम आफ्नो पालिकाले गरेको भए पनि नीतिगत, संस्थागत र व्यवहारगत प्रक्रियामा अझै रुमलिरहेको बताइन् । शिक्षा भन्ने बित्तिकै शिक्षक सरुवा र भौतिक पूर्वाधार निर्माण बुझ्ने सोचाइ केन्द्रबाट अहिले स्थानीय तहमा सरेको स्पष्ट पार्दै बालबालिकाको सिकाइमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका सुर्खेतकी उपप्रमुख मोहनमाया ढकालले कोरोनाको प्रत्यक्ष प्रभाव शिक्षामा देखिएको भए पनि नगरपालिकाले विभिन्न वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरताका लागि प्रयास गरिरहेको बताइन् । रेडियो, टेलिभिजन, अनलाइन, टोलटोलमा शिक्षक परिचालन गरेर पनि सिकाइ निरन्तरता दिने प्रयास गरेको उनको भनाइ छ ।

सेभ द चिल्ड्रेनकी सल्लाहकार डा. लक्ष्मी पौडेलले कर्णाली प्रदेशको शिक्षामा हिजोका दिनमा पनि समस्या रहेको भए पनि कोभिड–१९ को महामारीपछि झनै चुनौती थपिएको बताइन् । एक अध्ययनअनुसार कर्णाली प्रदेशमा १५ प्रतिशतमा टेलिभिजन र रेडियोमा ६३ प्रतिशत पहुँच देखिएको, झण्डै ८० प्रतिशत बालबालिकाहरुसँग सिकाइ सामाग्री भए पनि तीमध्ये ७५ प्रतिशतले त्यसको प्रयोगका लागि बसाइँ व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । ३३ प्रतिशत अभिभावक घरमा बालबालिकालाई सिकाइको वातावरण निर्माण गर्न प्रयासरत रहेको अध्ययनले देखाएको डा. पौडेलले बताइन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले वैकल्पिक सिकाइका लागि माध्यममा मात्रै पहुँच भएर नपुग्ने भएकाले माध्यमले पनि विद्यार्थीहरुलाई आकर्षित गर्नुपर्ने बताए । अनलाइन शिक्षा कर्णालीमा चुनौतीपूर्ण भएको उल्लेख गर्दै उनले भने, ‘प्रदेश सरकारले इन्टरनेटको उपलब्धता र विद्यार्थीलाई भर्ना गर्ने बेला रेडियो वितरण गर्नुपर्ने देखियो ।’

शिक्षा पत्रकार समूहको यो ३१ औं शृंखलामा कर्णाली प्रदेशका शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, पत्रकार लगायत ४५ जनाको सहभागिता थियो ।