बुधबार, फागुन ९, २०८०

अपांगता भएकाहरुको सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स बिहीबार, मंसिर १८, २०७७


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अपांगता भएका व्यक्तिहरुका लागि न्याय तथा उनीहरुको सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
२९औं अन्र्राष्ट्रिय अपांग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले विभिन्न कारणबाट अपाङ्गता भएका कर्णाली प्रदेशवासी सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, पुनस्र्थापना, न्याय तथा सम्मानपूर्वक जीवनयापनको व्यवस्था प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।
संविधानले अपाङ्गता भएका नागरिकहरुलाई अन्य नागरिकसरह राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक लगायत सम्पूर्ण अधिकारको सुनिश्चित गरेकोले त्यसको कार्यान्वयनमा पनि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपालको राजनीतिक परिवर्तनका लागि अपाङ्गता भएका व्यक्तिहरुप्रति मुख्यमन्त्री शाहीले सम्मान व्यक्त गरेका छन् ।
‘अपाङ्गता भएका व्यक्तिहरुमा अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ, यसका लागि संघीय र स्थानीय तहका सरकारसँगको समन्वयमा आवश्यक नीति, योजना, कार्यक्रम र बजेट निर्माण गरी कर्णाली प्रदेश तथा समग्र राष्ट्रको विकासको मुलप्रवाहमा समेट्न प्रदेश सरकार तत्पर छ ।’ मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण अपांग दिवसलाई सामुहिक भेला भई मनाउन सक्ने अवस्था नभए पनि यसको महत्वलाई आत्मसात गर्दै वैकल्पिक माध्यमको प्रयोग गरी सामाजिक सचेतना निर्माण गर्न उनले आग्रह गरेका छन् ।
मुख्यमन्त्री शाहीले अपांगता भएका नागरिकहरुलाई हेलाहोचो र हेयका दृष्टिले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तनका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिवसका अवसरमा दिएका छन् ।
यस बर्षको अपांग दिवस ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने नारासहित मनाईदै छ ।