आइतवार, बैशाख २३, २०८१

कर्णाली प्रदेशमा प्रहरी संरचना निर्माणका लागि प्रदेश सरकारले १० करोड खर्च गर्ने

  
कर्णाली टाइम्स आइतवार, मंसिर २१, २०७७


सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रहरी संरचना निर्माणका लागि झण्डै १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । मंसिर १८ गते बसेको मन्पिरिषदको वैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माण, अन्य प्रदेश प्रहरी संरचना निर्माण, प्रहरी तालिम केन्द्र निर्माणको लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, प्रदेश प्रहरी संरचना निर्माणको लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणको लागि १ करोड रुपैयाँ खर्चका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
यस्तै मन्त्रिपरिषदको वैठकले आर्थिक बर्ष ०७७÷७८ को स्वीकृत बजेटअन्तर्गत चालु खर्च शिर्षकको ४६ लाख रुपैयाँ विपद्का घटनाबाट पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । जसअन्तर्गत विपद्का घटनामा मृतकका २३ परिवारलाई उक्त रकम राहतस्वरुप दिईने छ ।
सडक लगायत दुर्घटना उद्दार कार्यक्रम शिर्षकबाट मृतकका २३ घरपरिवारलाई राहत रुकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई स्वीकृति प्रदान गरिनेछ । यसका लागि जिल्ला प्रशासन कार्यालयहरुले मृतकको एकीन गरी दोहोरो नपर्ने गरी राहत प्रदान गर्नुपर्नेछ ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् ।