शनिबार, कार्तिक १०, २०८१

आजदेखि कोरोनाविरूद्धको खोप अभियान सुरू

  
कर्णाली टाइम्स बुधबार, माघ १४, २०७७

सुर्खेत । सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ ।

भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ । सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ ।

आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्‍याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ । पहिलो चरणमा चार लाख जनाभन्दा बढीलाई खोप लगाउने सरकारको तयारी छ । खोप लगाउने भएपछि स्वास्थ्यकर्मीहरू उत्साहित छन् ।

स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी लगायतको नाम केन्द्रमा सिफारिस गर्दै खोप लगाइदिन आग्रह गर्न थालेका छन् ।