शनिबार, कार्तिक १०, २०८१

दैलेखका कोरोना संक्रमिको सुर्खेतमा मृत्यु

  
कर्णाली टाइम्स आइतवार, माघ १८, २०७७


सुर्खेत । आइतबार दैलेखका एकजना कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबार बिहान दैलेखको गुराँस गाउँपालिका–५ का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो ।
५ दिनदेखि लागतार ज्वरो, खोकी तथा सास फेर्न समस्या भएपछि उनलाई माघ ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । त्यसक्रममा आरटी पिसीआर विधिबाट नमूना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नतिजा पोजिटिभ देखिएपछि उनी अस्पतालबाट गएर घरमै ‘होम आईसोलेशन’ बसेका थिए । पुनः माघ ९ गते दिउँसो सास फेर्न कठिनाई भएपछि उनलाई प्रदेश अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।
उनी उच्च रक्तचापबाट समेत पीडित रहेको महाशाखाले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण कपासेले उनको शव व्यवस्थापन गरेको महाशाखाले जनाएको छ ।
कर्णालीमा कोरोनाबाट मृत्यु हुने उनी ३० औं व्यक्ति हुन् । हालसम्म कर्णालीमा मृत्यु हुनेमध्ये सुर्खेतका १६, दैलेखका ७, सल्यान, रुकुम पश्चिम, कालिकोट र डोल्पाका एक÷एक जना छन् । यस्तै बाँकेका २ र स्याङ्जाका एक जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।