शनिबार, कार्तिक १०, २०८१

२ वर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द

  
कर्णाली टाइम्स बिहीबार, फागुन २०, २०७७

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो ।
सरकारसँगको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका छन् ।
साथै सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ । काठमाडौंमा आयोजित हुने उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने तयारी रहेको छ ।
२०६९ को असारमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रति असन्तुष्टि जनाउँदै मोहन वैद्यको नेतृत्वमा छुट्टै नेकपा माओवादी क्रान्तिकारी गठन गरिएको थियो । तर २०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको उक्त पार्टी क्रान्तिकारी हुन नसकेको भन्दै चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दाहाल नेतृत्वको पार्टीले माओवादी आन्दोलन छाडेको जनाउँदै चन्दले आफूहरु मूलधारको माओवादी भएको बताउँदै आएका थिए ।
चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, बन्दी रिहाइ र मुद्दा खारेज गर्ने सहमति
पार्टी गठन गरेसँगै चन्द नेतृत्वको पार्टीले नेपाल बन्द, सरकारी कर्मचारीहरुलाई कालो मोसो दल्ने, चन्दा असुल्ने, कर नतिरेको भन्दै एनसेलका टावरहरुमा विस्फोट गराउने क्रियाकलापलाई तीव्रता दियो । हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते उक्त पार्टीमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गर्‍यो । नेत्रविक्रम चन्द भने सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही समयअघि नै भूमिगत भएका थिए । सरकारले प्रतिबन्ध लगाउनुभन्दा पहिले नै उक्त समूहले भूमिगत शैलीमा आफ्ना गतिविधि चलाउँदै आएको थियो ।
झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो । चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा ४ दिनअघि मात्रै तराईमा ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा गतिविधि गर्दै आएका सीके राउतसँग सरकारले सहमति गरेको थियो ।
सरकार र सीके राउतबीच भएको सहमतिपत्र सार्वजनिक गर्न २०७५ फागुन २४ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द समूहप्रति लक्ष्य गर्दै भनेका थिए, ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा, विप्लव समूह भन्ने छ एउटा । लुट्नका लागि, कमसेकम लुट्नकै निम्ति पनि त्यो नेकपा भन्ने बर्को त फ्याँक, आफूले पनि नेकपा नै भन्नु पर्‍या छ, त्यस्ताले पनि नेकपा भनेका छन् । बेइज्जत भइसक्यो नेकपा भन्न पनि ।’
चन्द समूहले हतियार बुझाउला ?
चन्द समूह शान्तिपूर्ण रुपमा राजनीतिमा आउने सहमति भए पनि उँसग भएका हतियार बुझाउने बारेमा के सहमति भयो भन्नेचाहिँ खुलाइएको छैन ।
केही समय अघि चन्द नेतृत्वको नेकपाका नेता अनिल शर्माले हतियार हुनु ठूलो कुरा नभएको बताएका थिए । उनले कान्तिपुरसँग भनेका थिए, ‘हतियार त अहिले सबैसँग छ । कांग्रेससँग पनि, कम्युनिस्टहरूसँग पनि । प्रचण्डले पनि त्यत्रो दसौं वर्ष हतियार उठाए, आफूहरूसँग भएका सबै हतियार बुझाएका छैनौं भनेर उनीहरू नै भन्छन् । कर्णालीमा बगेका हतियारका कुरा पनि छन् । त्यसकारण हतियार त घरघरमै छन् नि, के ठूलो कुरा भयो र  ?’
कसरी बन्यो सरकार र चन्द समूहबीच वार्ताको वातावरण  ?
सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीसँग भएका केही शक्तिशाली हतियारसमेत चन्द समूहसँग रहेको आशंका छ । वार्तामा चन्द समूहको वार्ता टोलीले हतियारबारे कस्तो धारणा पेस गर्छ भन्ने चासो सरकारको छ । यसअघि चन्द समूहबाट एम–१६, एलएमजी, एसएमजीजस्ता शक्तिशाली हतियार पनि बरामद गरिएको थियो ।
एसएलआर, सकेट बम, ह्यान्ड ग्रिनेडलगायत हतियार तथा बम पनि बरामद गरिएका थिए । वार्तामा कति हतियार छन् भन्ने विषय सरकारी पक्षका लागि ज्यादै चासोको विषय भएको एक सुरक्षा अधिकारीले बताए । २०७६ जेठ १३ गते गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा चन्द समूहसँग ४ वटा कम्पनी रहेको सूचना आफूसँग रहेको बताएका थिए । चार वटा कम्पनी रहेको समूहसँग हतियारको संख्या पनि उलेख्य भएको सरकारी आकलन छ ।
प्रतिबन्धपछि २ हजारभन्दा बढी नेता कार्यकर्ता पक्राउ
प्रतिबन्धपछिको २ वर्षमा चन्द समूहका २ हजार ८९ जना नेता/कार्यकर्ता पक्राउ परेकामा अधिकांश रिहा भए पनि व्यक्ति हत्या, विस्फोट, आगजनीलगायत गम्भीर किसिमका कसुरमा संलग्न भएको आरोपमा १ सय ३३ जना पुर्पक्षका क्रममा विभिन्न कारागार र ३ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहितका नेता/कार्यकर्ता कारागारमा छन् भने अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहित ३ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध विस्फोट र आगजनी, मोरङको मिक्लाजुङमा एक शिक्षकसहित ४ जनाको हत्या जस्ता अभियोग लगाइएका छन् । यी कसुरमा मुद्दा फिर्ता गर्न जटिलता छ । प्रतिबन्धपछि प्रहरी कारबाहीमा चन्द समूहका ४ जना मारिए । चन्द समूहका ७ जनाले सडकमा आफैंले राखेको बम विस्फोटमा परी ज्यान गुमाए । साभार कान्तिपुरबाट