चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा समेत मन्त्रालयका कुनै काम अघि नबढेपछि मन्त्री रावलले सचिव लोकनाथ पौड्याललाई कारबाहीका लागि फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका थिए।
‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ।’
सामाजिक विकास मन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरूवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेको थियो ।
संघीय मामिला मन्त्रालयले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरूवा गरेको छ ।
कर्णालीमा रहँदा पौड्याल निकै आलोचित भएका थिए। केही दिनअघि खेतीयोग्य जमिनको माग गर्दै धर्नामा बसेका वादी समुदायको मागबारे ध्यानाकर्षण गराउन मन्त्रालयमा पुगेको मानव अधिकार आयोगको टोलीलाई उनले दुर्व्यवहार गरेको आरोप छ ।
कर्णाली टाइम्स
सोमवार, चैत्र २, २०७७