आइतवार, भदौ २३, २०८१

सुकी बडुवालका भाइले दिए भिनाजुविरूद्ध मुद्दा

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १२, २०७७


सुर्खेत । दैलेखको आठबिसकोट नगरपालिका-३ निमायलकी सुकी बडुवालसहित चार छोराछोरीको मृत्युको घटनाबारे सुकीका भाइले भिनाजुविरूद्ध मुद्दा दायर गरेका छन्। उनका भाइ बजिरबहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते आत्महत्या दुरूत्साहन मुद्दा दिएका हुन्।
४३ वर्षीय भिनाजु मानसिंह बडुवाल विरुद्ध मुद्दा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मुद्दाको आधारमा बडुवाललाई पक्राउ गरी १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
फागुन २३ गते सुकी बडुवाल आफ्ना छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षीया रजनी र ९ वर्षीय छोरा ललित बडुवाललाई लिएर घरबाट हिँडेकी थिइन् ।
दैलेख र अछामको बीचमा पर्ने कर्णाली नदीमा डुबेको अवस्थामा उनीहरूको शव भेटिएको थियो । २४ गते बेलुका छोरीहरू कल्पना र सरिताको शव भेटिएको थियो भने त्यसको भोलिपल्ट बिहान आमा सुकी र उनका छोरा ललितको शव भेटिएको थियो।
कान्छी छोरी रजनीको शव भने त्यसभन्दा करिब ९ किलोमिटर तल असालाघाटमा भेटिएको थियो। पोष्टमर्टम रिपोर्टअनुसार सुकीको पेटमा २ महिनाको बच्चा देखिएको थियो।