सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को सूचना जारी नभएसम्मका लागि नियमित सेवा रोकेको छ । सुर्खेत जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारीका कारण उच्च सतर्कता अपनाउन सेवा ठप्प गरिएको हो ।
नयाँ नागरिकता वितरण, नागरिकताको प्रतिलिपी दिने, नबालक परिचयपत्र दिने, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता, समावेशी सिफारिस तथा प्रमाणित, राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य, अन्य अत्यावश्यक सिफारिसका काम भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
सुर्खेत जिल्लाभर आज राति १२ बजेदेखि निषेधाज्ञा पनि जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।
कर्णाली टाइम्स
मंगलबार, बैशाख १४, २०७८