सुर्खेत । कोभिड–१९ ले सुर्खेतलाई पनि जोखिममा पारिसकेको थियो । कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै थियो । कोभिड अस्पतालका बेडहरु भरिन थाले । अस्पतालमा भर्ना भएका सबै कोभिड संक्रमितहरुलाई अक्सिजन दिईरहनुपथ्र्यो ।
जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गर्यो । त्यहीबेला सुर्खेतका केही युवाहरुले घरमै बसेर कोभिडका बिरामीहरुलाई सहयोग गर्न सकिने अभियानबारे सोचे ।
कोभिडलाई जितेर घरमा आराम गरिरहेका एकजना युवाले फेसबुक म्यासेन्जरमा ‘सहयोग गर्न सकिने खालको कुने अभियान चलाऔं’ भनेर साथीभाईलाई म्यासेज गरे । तत्काल उनका अरु साथीहरुले पनि यो कुरा मन पराएर र तुरुन्तै सुरु गरे ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान ।
अहिले यही अभियान कोभिड संक्रमितहरुको लागि राहत बनेको छ । यो अभियानअन्तर्गत सुरुमा अक्सिजन सिलिन्डरहरु जुटाईयो । प्रदेश अस्पतालमा अक्सिजनको अभाव खेपिरहेका बिरामीहरुलाई त्यसमार्फत् दिईयो ।
अहिलेसम्म यो अभियानमार्फत १५ वटा अक्सिजन सिलिन्डर जुटाईएको छ । त्यसलाई अस्पतालमा समस्या भएका बिरामीहरुलाई दिने र सकिएपछि पुनः भरेर ल्याउने गरिएको छ । ‘अक्सिजन सिलिन्डर त किन्न खोजे पनि पाइँदैन । हामीले कसैलाई २० हजार, कसैलाई २५ हजार रुपैयाँ धरौटी दिएर सिलिन्डर ल्याउने गरेका छौं,’ अभियानता धर्म आचार्यले भने, ‘यसमा ३ लाख बढी रकम धरौटीस्वरुप नै दिएका छौं ।’
उनका अनुसार कतिपयबाट पछि फिर्ता गर्ने कागज बनाएर बिना धरौटी सिलिन्डर ल्याईएको छ ।
‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियानलाई धेरैले सहयोग गरेको उनले बताए । प्रायजसोले एक हजार रुपैयाँ दिएका छन् भने केही व्यक्तिले त्यो भन्दा माथी १ लाख सम्म पनि रकम दिएको उनले बताए ।
अमेरिकामा बस्ने सुर्खेतकी कमला खाँण (खड्का) र सुर्खेतको वीरेन्द्रनगर–११ की नैनसरा थापाले एक/एक लाख रुपैयाँ यो अभियानलाई दिएका छन् । हाल अस्ट्रेलियामा बस्ने सञ्जय पुरीले पनि यो अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसरी दाताले सहयोग गरेको रकम ५ लाख संकलन भएको छ ।
अस्पतामा मात्र नभई घरमै उपचार गराईरहेका कोभिडका बिरामीहरुलाई पनि अक्सिजन दिने गरिएको आचार्यले बताए ।
यही अभियानअन्तर्गत अस्पतालमा रहेका बिरामीहरुलाई दिवा खाजा पनि खुवाउने गरिएको छ । यसका लागि पनि विभिन्न दाताहरुले सहयोग गर्ने गरेको अर्का अभियानता मिलन श्रेष्ठले बताए ।
सोमबारदेखि यही अभियानअन्तर्गत निःशुल्क रुपमा एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ । त्यसमा अक्सिजन सहितको व्यवस्था गरिएको छ ।
‘हामी आफैंले एम्बुलेन्स किनेर कसैलाई निशुल्क सञ्चालनका जिम्मा दिन खोजेका थियौं, तर प्रदेश सरकारबाट स्वीकृति लिईसकेपछि पनि २ महिना प्रक्रिया लाग्ने रहेछ,’ आचार्यले भने, ‘त्यसकारण अहिले त भाडामा लिएर चलाएका छौं ।’
उक्त एम्बुलेन्स सञ्चालन गर्दा चालकलाई दिने तलब र ईन्धनको व्यवस्था पनि अभियानताले नै गर्नेछन् ।
कर्णाली टाइम्स
मंगलबार, बैशाख २८, २०७८