सुर्खेत । सुर्खेमा जारी निषेधाज्ञाको अवधि दुई हप्ता थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जनाएको छ । जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी छ । यसअघि वैशाख २१ गते थप गरी ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो समय थप गरिएको निषेधाज्ञामा झन् कडाई गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेर्ला संक्रामक रोग ऐन २०२० अनुसार एक महिना कैद वा १०० रुपैयाँ जरिवाना हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने भनिएको छ ।
निषेधाज्ञामा एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधि, कुखुराको चल्ला, माछाका भुरा पशुपंछीको दाना, पानी, दुध, ईन्धन, फलफूल तथा तरकारी बोकेका सवारी साधनहरु तथा जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका लागि निर्माण सामग्री ढुवानी हुने सवारी साधन चल्न पाउनेछन् ।
अत्यावश्यक सेवाका सवारी साधन, झण्डाबाहक गाडी, कुटनीतिक सवारी साधान, प्रेस पास भएका सवारी साधन यो निषेधाज्ञाका बेला चलाउन पाईनेछ ।
कर्णाली टाइम्स
शुक्रबार, बैशाख ३१, २०७८