आइतवार, भदौ २३, २०८१

कर्मचारीको दुई दिनको तलब विपद् कोषमा

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २, २०७८

सुर्खेत । कोरानाको औषधि व्यवस्था गर्न जाजरकोटको भेरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले २ दिनको तलब दिने भएका छन् । कोरोना शीर्षकमा विनियोजित बजेट अपुग भएपछि तलब दिने भएका हुन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले २ दिनबराबर ७ लाख रुपैयाँ विपद व्यवस्थापन कोषमा जम्मा गरिने बताए । उक्त रकमबाट कोरोनाको औषधि र अक्सिजन सिलिन्डर खरिद गरिने उनको भनाइ छ । नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारी, जनप्रतिनिधि र शिक्षकको तलब कोषमा जम्मा गर्न लागिएको हो ।
यसैबीच, भेरी नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरसहित १४ बेडको आइसोलेसन बनाएको छ । ६ स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण र ट्रेसिङका लागि परिचालन गरिएको छ । संक्रमितलाई ओसारपोसार गर्न रेडक्रसको एम्बुलेन्स भाडामा लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए । अहिले औषधि ओसारपोसार, स्वाब संकलन र अनुगमनका लागि नगर प्रमुखको गाडी प्रयोग हुँदै आएको छ ।