आइतवार, भदौ २३, २०८१

अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान गरिएको सल्यान अस्पतालमा अनुगमन

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ ६, २०७८
सल्यान अस्पतालमा जडान गरिएको कन्सन्ट्रेटर । तस्विर : सांसद् प्रकाश ज्वालाको फेसबुकबाट

सुर्खेत । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान गरेपछि चौतर्फी आलोचना भएपछि कर्णाली प्रदेश सुर्खेतबाट प्रदेश स्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ ।
जिल्लामा धेरै विवादित बनेको अक्सिजन प्लान्ट लगायत अस्पतालका अन्य विषयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो ।
अनुगमनपछि पत्रकारहरुसँग कुराकानी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डा. तिवारीले टिममा बायोमेडिकल इन्जिनियर पनि रहेको बताए । अस्पतालमा जडान गरिएको मेसिनका बारेमा तीन दिन भित्रमै सामाजिक विकास मन्त्रालयमा अनुगमन प्रतिवेदन पेस गर्ने जानकारी दिए । ‘प्राविधिक विषयमा अहिले नै केही भन्न मिल्दैन,’ उनले भने, ‘सबै कुरा प्रतिवेदनमा समावेश गरिनेछ ।’
स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुस १३ गते अक्सिजन प्लान्ट जडानका लागि गरेको टेन्डर अनुसार ड्रयागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन कन्सन्ट्रेटर शनिबार जडान गरेको थियो । प्रदेश सरकारले विनियोजन गरेको ५८ लाख रकम मध्येबाट ४० लाखको अक्सिजन प्लान्ट जडान गर्ने र १८ लाखको पाइप लाइन जडान गर्ने कार्यक्रम रहेको थियो ।
करिब ४० लाख बजेटको अक्सिजन प्लान्टका नाममा करिब ३ लाख रकम मात्राको अक्सिजन कन्सन्ट्रेटर जडान गरेपछि कार्यालयका प्रमुख दशरथ श्रेष्ठ, लेखापाल लवविक्रम शाह र सामान खरिदको अध्यक्ष तारा रिजालले मिलेमतो गरी झन्डै ३६ लाख आर्थिक अनियमिता गर्न खोजेको पोल खुलेको थियो । त्यत्ति मात्र नभइ अहिले पाइप लाइन जडानका विषयमा पनि आर्थिक चलखेल गर्न खोजेको समेत पोल खुलेको थियो।