आइतवार, भदौ २३, २०८१

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको चीरहरण गरे, यसको प्रतिरोध गरौं’

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ ८, २०७८

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री एवं संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संविधानको चीरहरण भएको बताएका छन् । उनले कानुनी, राजनीतिक र जनस्तरबाट प्रतिरोध गर्नसमेत आह्वान गरेका छन् ।
‘यो मध्यरातमा गरिएको डकैती हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै मिलेर यसको प्रतिरोध गरौं ।’ नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत बनाएको संविधान रक्षा गर्नुपर्ने उनले बताएका छन् ।
महामन्त्री खड्काले शुक्रबारकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनको लागि आह्वान गरेपछि तीब्र बिरोध गरेका थिए । राष्ट्रपतिको उक्त कार्यले संविधान ध्वस्त पार्ने र मुलुकलाई द्वन्द्वमा लैजाने गंभीर षड्यन्त्र भएको उनको भनाइ छ ।
पछिल्लो घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठकले पार्टीको ठोस धारणा सार्वजनि गर्ने बताइएको छ ।