सुर्खेत। कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मर थापालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको वैठक अवस्द्ध गरेको छ । आजदेखि सुरु भएको आठौं अधिवेशनका पहिलो वैठकमा कार्यसूची अघि नबढ्दै एमालेले वैठक अवरुद्ध गरेको हो।
सभामुखले कार्यसूची अघि नबढाउँदै उठेर संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन देखिएका मन्त्री अम्मर थापालाई हटाएर मात्र संसद सुचारु गर्न माग गरेका हुन्।
‘राजनीतिक अपराधी सम्मिलित रहेको यो सरकार हो, अदालतले करार पुष्टी भएका व्यक्तिहरु झण्डा हल्लाउँदै यो सभामा प्रवेश गरेका छन्,’ कँडेलले भने, ‘कसलाई कहाँ बस्न पाईन्छ त्यसको निर्धारण गर्नुपर्छ, सजाय भोगीसकेको व्यक्ति कुनैपनि तहको सार्वजनिक पदमा बस्न नपाईने व्यवस्था छ।’
उनले यसअघि वैंकिङ कसुरसम्बन्धी अभियोग लागेका भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई मुख्यमन्त्री शाहीले बर्खास्त गरेको बताउँदै अहिले सिर्जना भएको यो अवस्थालाई पनि कार्यान्वयन गर्न सभामुखमार्फत मुख्यमन्त्रीलाई आग्रह गरे।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेको थापा वैशाख ४ गते भौतिक पूर्वाधार मन्त्री बनेका थिए। थापाले जालसाजी मुद्दामा जेल सजाय पाएको खुलेको छ।
मन्त्री बनेपछि उनीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले जेठ ३० गतेभित्र सर्वोच्चमा उपस्थित हुन भनेको छ।
सदनमा सभामुख शाहीले यो मुद्दा बिचाराधीन भएकाले सदन चल्न आग्रह गरेका थिए। तर प्रमुख प्रतिपक्षी दलले भने उभिएर वैठक अवरुद्ध गर्यो।
कर्णाली टाइम्स
सोमवार, जेष्ठ २४, २०७८