सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ।
पार्टी ह्विपविपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो।
गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए।
फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरू चार जनालाई निष्कासन गरेको थियो।
सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रूपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरू पुनर्स्थापित भएका हुन्।
दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो। सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन्।
दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रूपमा पुनर्स्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरूद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रूपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताए।
त्यस्तै, बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ। रासस
कर्णाली टाइम्स
शुक्रबार, असार ४, २०७८