आइतवार, भदौ २३, २०८१

मृतकका परिवारले पाएनन् बिमा रकम

  
कर्णाली टाइम्स आइतवार, असार २०, २०७८


सुर्खेत। कर्णाली प्रदेश सरकारले २०७६ असोजमा कर्णालीवासी र कर्मचारीका लागि एक लाख रुपैयाँको बिमा कार्यक्रम सुरु गर्यो । तर विपद्बाट मृत्यु भएकाले अझै बिमा रकम पाउन सकेका छैनन् ।
कार्यक्रम कार्यान्वयनका लागि सरकारले राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेको छ । सुरुको सम्झौतामा विपद्बाट मृत्यु भएकाका परिवारले १ लाख रुपैयाँ पाउने भनिएकोमा पछि बढाएर २ लाख बनाइएको छ । पहिलो सम्झौतामा प्रतिव्यक्ति ७ रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम बुझाउने उल्लेख भएकोमा संशोधित सम्झौतामा प्रतिव्यक्ति ८ रुपैयाँ ४८ पैसा तिर्ने उल्लेख भयो ।
सरकारले पहिलो वर्ष उक्त कार्यक्रमका लागि कम्पनीलाई १ करोड ५० लाख रुपैयाँ बुझायो । अहिलेसम्म विपद्बाट मृत्यु भएका ४४ मृतकका परिवारलाई मात्र २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अहिलेसम्म बिमाबापत ८८ लाख रुपैयाँ मात्र वितरण गरिएको छ । मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले १५ मृतकका परिवारको प्रक्रिया पूरा भई चेक हस्तान्तरण गर्न बाँकी रहेको बताए ।
उनका अनुसार मन्त्रालयमा केही दिनअघि मात्रै १३ मृतकका परिवारले विपद् जोखिम बिमा लिनका लागि फाइलहरु पठाएका छन् । ‘उनीहरुको प्रक्रिया पनि सुरु भएको छ, कागजात नपुग्दा केही फाइल अड्किरहेका छन्, कहिले के पुग्दैन, कहिले के पुग्दैन । बारम्बार पत्र लेखेर पठाइरहनुपर्छ,’ उनले भने ।
मृतकका परिवारले बिमा रकम भुक्तानीका लागि कागजात पठाउन ढिलाइ गर्दा समस्या भएको उनले बताए । उनका अनुसार आगलागीमा परी मृत्यु भएका ५ जनाले पनि बिमा रकम पाउन बाँकी छ । प्रदेश सरकारले सामूहिक बिमा कार्यक्रम कार्यान्वयन गर्नुभन्दा अघि मृत्यु भएका २३ जनाका परिवारलाई मन्त्रिपरिषद्बाटै निर्णय गरी २ लाख रुपैयाँका दरले हस्तान्तरण गरिसकेको छ ।
प्रदेश सरकारले सामूहिक बिमा कार्यक्रम कार्यान्वयन गरेको १५ महिनाको अवधिमा विपद्मा परी १ सय २ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २०७६ चैतदेखि असारसम्म १२ जनाको विभिन्न प्राकृतिक विपद्मा परी मृत्यु भएको हो । चालु आवको हालसम्म ९० जनाले प्राकृतिक विपद्मा परि ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुनबहादुर चन्दले बताए ।
यो वर्ष विपद्मा परी ११ जना बेपत्ता छन् । प्रदेश सरकारले सामूहिक बिमा कार्यक्रम कार्यान्वयन गरेदेखि हालसम्म ७७ जनाको मात्रै प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये पनि ४४ जनाले मात्रै रकम पाएका छन् । अझै २५ जनाको प्रक्रिया अघि बढेको छैन ।
आगलागीबाट मृत्यु भएकाका परिवारलाई बिमा रकम दिन समस्या भएको मन्त्रालयका सूचना अधिकारी रोकायाले बताए । ‘कम्पनीले आगलागीबाट मृत्यु भएकालाई रकम नदिने भनेको छ,’ उनले भने, ‘हामीले कार्यविधि संशोधन गरेका छौं, अब प्रक्रिया सुरु हुन्छ ।’ १५ महिनाको अवधिमा १४ जनाको आगलागीमा परी मृत्यु भएको उनले जनाए ।
सरकारले कार्यान्वयनमा ल्याएको सामूहिक विपद् जोखिम बिमाको दुई लाख रुपैयाँ भूकम्प, बाढीपहिरो, हावाहुरी, चट्याङ, आगलागी, हिमपहिरो र असिनाबाट मृत्यु हुनेका परिवारले पाउँछन् । विपद्बाट मृत्यु भएकाका परिवारले रकम पाउन १५ दिनभित्र कम्पनीलाई निवेदन दिनुपर्छ । प्रमाणसहित बिमा कम्पनीमा राहत दाबी गरेको १५ दिनभित्र रकम मृतकका परिवारले पाउने व्यवस्था मिलाइएको रोकायाले बताए । कान्तिपुर