सुर्खेत। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरी काम भईरहेको बताएका छन्। बिहिबार गुर्भाकोट–९ बोटेचौरमा स्थापना गरिएको भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दौ खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधार लगायतका सामाजिक सेवा पुर्याउने उद्देश्यले सरकार अघि बढेको बताए।
भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयले काम गर्ने उनले बताए।
‘डोल्पा, जाजरकोट, रुकुम, सल्यान र सुर्खेतका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइ लगायतका सामाजिक सेवाका कार्यहरु गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो’, उनले भने, ‘भेरीको पानी बबईमा खस्नुअघि नै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरु सम्पन्न हुनेछन्।’
खड्काले आयोजनालाई तिब्रताका साथमा अघि बढाउन निर्देशन दिए। भेरी–बंबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सञ्चालन गरिएको थियो। सुरुमा १२५ किलोमिटर क्षेत्रमा काम गर्ने गरि अघि बढेको करिडोर आयोजनाले अब डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।
खड्काले अर्थतन्त्राई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको उनको भनाई छ। ‘सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ, आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप काम गर्ने नै छ।’ उनले भने।
कर्णाली टाइम्स
बिहीबार, असोज ११, २०८०